पुर्व प्रधानमन्त्री प्रचण्ड आज गुल्मी आउँदै
फागुल्मी – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गुल्मी आउँदै छन् । जिल्लाको मालिका गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन, हेलिप्याड र मालिका पिस पार्क र धुर्कोट गाउँपालिकाको निर्मित सहिद पार्क उद्वघाटनको लागि प्रचण्ड गुल्मी आउन लागेका हुन्।
प्रचण्डले फागुन १ गते गुल्मीका दुई पालिकामा पुगेर विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनिसङ्गै जिल्लामा दर्जनौं नेताको आगमन हुँदै छ । यतिबेला दुईपालिका पुर्व प्रधानमन्त्री आउने भएपछि कार्यक्रमको भब्य तयारी गरिएको छ । मालिका गाउँपालिकाले प्रचण्डको भ्रमण तालिका सार्वजनिक गरेको छ । उनी बुधबार बिहान १० बजे गाउँपालिकाको केन्द्र अर्खाबाङ्ग ठुलिचौरमा रहेको हेलिप्याडमा आउने छन् ।
उनले १० बजे देखि १०:१५ सम्म हेलिप्याड र पिसपार्कको उद्वघाटन गर्ने गाउँपालिकाले जनाएको छ । पौने ११ मा प्रचण्डले प्रशासकीय भवन, तेस्रो मालिका रनिङ शिल्ड तथा अन्तर स्थानीय भलिबल प्रतियोगिताको उद्वघाटन गर्ने बताइएको छ । गुल्मी जिल्लाका १२ वटा स्थानीय तह सहित छिमेकी पालिका बडिगाड ,गौमुखी गाउँपालिका र मितेरी पालिका ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल खेल हुनेछ । वडास्तरीय भलिबल प्रतियोगिता ,आठ वटै वडाबाट क्लब, आमा समुहले मौलिक पहिचान झल्कने रितिरिवाज प्रस्तुत गर्ने छन् ।
मालिकामा कार्यक्रम सम्पन्न भएलगत्तै उनी धुर्कोट गाउँपालिकाको केन्द्र नजिकै निर्मित सहित पार्क उद्वघाटनमा पुग्ने छन् । त्यहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहिदहरु समसेर बहादुर खत्री, खिम बिक्रम नेपाली,जेदुराम भन्डारीको सालिक अनावरण तथा पार्क उद्घघाटन गर्ने बताइएको छ । दुई पालिकाको कार्यक्रममा पुर्बमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण राज बिष्ट , प्रदेश मन्त्री दिनेश पन्थी ,पुर्ब मन्त्री रामकुमारी झाक्री ,जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री जिल्लाका स्थानीय तहका प्रमुख र राजनैतिक ब्यक्तिहरु समेतको उपस्थिति रहने पालिकाले जनाएका छन् ।