जनताका धेरै ठुला आशा र अपेक्षा छन् : प्रचण्ड
गुल्मी – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताका धेरै ठुला आशा र अपेक्षा रहेको बताएका छन् । विहिबार धुर्कोट गाउँपालिका–४ बर्बोट स्थित सहिद स्मृति पार्कको उद्धघाटनका लागि गुल्मी पुगेका प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा यति ठुलो राजनितिक परिवर्तन जनताको त्याग र बलिदानको परिणाम भएको बताएका छन् । उनले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । ‘देशमा आर्थिक समृद्धिको दृष्टिकोणले प्रत्येक नेपाली जनताले आफ्नो घर परिवारमा आर्थिक क्रियाकलाप गरेर उत्पादन बढाउनमा केन्द्रित हुने वातावरण बनेको छैन्, नेपाली युवा विदेश जाने क्रम बढेको छ,‘प्रचण्डले भने’ ‘विदेशमा गएका नेपाली छोराछोरीहरुको रेमिटेन्सको पैसाले चल्नु पर्ने अवस्था बनेको छ,यो पक्कै पनि राम्रो कुरा हैन, हामीले देशभित्रै रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ।’
युवालाई स्वदेशमा रोजगारी सिर्जना गरेर राख्ने वातावरण नभएको बताउँदै अध्यक्ष प्रचण्डले अब युवालाई देशमै राख्ने बिषय राजनितिक नेतृत्वदेखि तीनै तहको सरकारलाई चुनौतीको बिषय बनेको बताए । उनले जतिसक्दो छिटो देशमा रोजगारी सिर्जना गरेर कृषिमा आधुनिकता लिनुपर्नेमा जोड दिए । कृषि र कृषिजन्य उत्पादनसँगै आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको अध्यक्ष प्रचण्डले बताए । ‘अमेरिकाले थालेको आप्रवासी निष्काशन,मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरू बैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउन सक्छ,त्यसैले हामी तयारी अवस्थामा बस्न आवश्यक छ, ‘उनले भने’ ।
अध्यक्ष प्रचण्डले देशमा उत्पादन र उत्पादकत्व वृद्धि गरेर आत्मनिर्भर हुने दिशातिर मेहेनत नगरे कुनैपनि बेला ठुलो अपठ्यारो देश पर्ने सक्ने उनले सुनाए । उनले आफूले सरकारको पछिल्लो नेतृत्वकालमा सुशासनको पक्ष र भ्रष्टचारका विरुद्ध केही कदम चालेको बताए । कार्यक्रममा उनले गुल्मी जिल्लाको विकासका निम्ति आफूले सदैव सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले धेरै ठुलो संर्घष र बलिदानपछि देशमा संविधान सभाको निर्वाचन,शान्ति सम्झौता देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र त्यसको कार्यन्वयनको वातावरण बनाएको बताए । सुशासन,सामाजिक न्याय र आर्थिक विकास आजको आवश्यकता रहेको अध्यक्ष प्रचण्डले दाबी गरे ।
देशमा यति ठुलो राजनितिक परिवर्तन जनताको त्याग र बलिदानको परिणाम भएको उनले बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले गुल्मीमा एकैदिन पाँचवटा कार्यक्रमको उद्घाटन गरेका छन् । धुर्कोटको निर्मित सहिद स्मृति पार्कको उद्घाटन संगै सहिदहरु समसेर बहादुर खत्री, खिम बिक्रम नेपाली,जेदुराम भन्डारीको सालिक अनावरण समेत गरेका छन् । उनले जिल्लाको मालिका गाउँपालिकाको नवनिर्वित प्रशासकीय भवन, मालिका पिस पार्क, हेलिप्याड र तेस्रो मालिका रनिङ सिल्ड प्रतियोगिताको समेत उद्घाटन गरेका हुन् । उनलाई गुल्मीमा भव्य स्वागत गरिएको छ । आजदेखि मालिका गाउँपालिकामा अन्तर स्थानीय तह बीचको भलिबल प्रतियोगिता सुरु भएको छ । भलिबल प्रतियोगितामा जिल्लाका १२ वटा स्थानीय तह सहित छिमेकी बडिगाड र गौमुखी गाउँपालिका सहभागि भएको बताइएको छ । त्यस्तै मितेरी पालिका ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल खेल संचालन भएको मालिका गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा अध्यक्ष प्रचण्डको स्वागतका लागि क्लब,आमा समूह र स्थानीयले मौलिक संस्कृति झल्कने कला प्रस्तुत गरेका थिए ।