कार्यसम्पादन मूल्याकंनमा इस्मा गाउँपालिका सबैभन्दा कमजोर



गुल्मी – प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याकंनमा गुल्मीमा इस्मा गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । आयोगले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०८०÷८१ को तथ्याकंअनुसार जिल्लाका १२ पालिकामध्ये इस्माले सबैभन्दा कम ५६.६ अकं ल्याएको छ ।

कार्यसम्पादन मूल्याकंनमा जिल्लाका पाँच पालिकाले ७० भन्दा बढी अकं प्राप्त गरेका छन् । जसमा धुर्कोटले ७६.६, रुरुक्षेत्रले ७६.२, छत्रकोटले ७४.८, रेसुङ्गाले ७४.४ तथा मालिकाले ७३.६ अकं प्राप्त गरेका छन् । धुर्कोट, रुरुक्षेत्र र मालिकामा माओवादीको नेतृत्व छ भने छत्रकोटमा एमाले र रेसुङ्गामा काँग्रेसले नेतृत्व गरेको छ ।


Advertisement
Advertisement
Advertisement

जिल्लामा सात पालिकाले ६० देखि ७० अकं प्राप्त गरेका छन् । जसमा गुल्मीदरबार गाउँपालिकाले ६४.२, मदानेले ६८.९, चन्द्रकोटले ६२.२, मुसिकोटले ६१.४, सत्यवतीले ६३.६ तथा कालिगण्डकीले ६०.२ अकं प्राप्त गरेका छन् । गुल्मीदरबार, मदाने र कालिगण्डकीमा काँग्रेसले नेतृत्व गरेको छ भने चन्द्रकोट माओवादी केन्द्र तथा मुसिकोट र सत्यवतीमा एमालेले नेतृत्व गरेको छ । इस्मा गाउँपालिकामा काँग्रेसको नेतृत्व रहेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशका गाउँपालिकामध्ये पहिलो, रुरुक्षेत्र गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो भएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याकंन कार्यविधि –२०७८ अनुसार अकं प्रदान गर्दछ ।

असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, बार्षिक बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, बिनियोजित रकम अनुसार खर्चको अवस्था, बेरुजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रुपमा मापन गरेको छ ।

त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चार पटक गर्भजाँच गरेको महिलाको अनुपात लगायतका १७ सूचकको आधारमा वित्त आयोगले अंक प्रदान गर्ने गर्दछ ।

आयोगले सार्वजनिक गरेको तथ्याकंअनुसार जिल्लाका कुनै पनि पालिकाले गत आर्थिक बर्षमा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये सरकारीलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेका छैनन् । उक्त शिर्षमा गत आर्थिक बर्षमा कुनै पनि पालिकाले कर संकलन गरेका थिएनन् । आयोगको सूचक नम्बर १, २, ३, ४ र ९ मा जिल्लाका सबै पालिकाले समान एक÷एक अकं प्राप्त गरेका छन् ।

इस्मा बाहेकका ११ पालिकाले सूचक नम्बर १० मा रहेको आवधिक योजना तर्जुमा गरेबापत थप एक अकं पनि प्राप्त गरेका छन् भने इस्माले योजना तर्जुमा नगरेका कारण अकं पाएको छैन ।

आयोगका अन्य सूचकमा पालिकाले कम अंक प्राप्त गरेका कारण इस्मा कार्यसम्पादन मूल्याकंनमा कमजोर देखिएको हो । यससम्बन्धमा गाउँपालिकाकी प्रवक्ता एवं उपाध्यक्ष पार्वती कुँवरले आफुले वित्त आयोगको प्रतिवेदन नहेरेको तर केही सूचकमा दिइएको अकं चित्त नबुझेकोले पुन परीक्षणको लागि पहल भएको बताइन् । संवाददातासँगको फोनमा खुलेर बोल्न नचाहेकी उनले इस्माको बिषयमा समाचार लेख्नुपर्ने आवश्यकता नै नभएको प्रतिक्रिया दिइन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.