चिटिक्क पारिएको गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगा
गुल्मी – गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगामा अवस्थित महापोखरीलाई चिटिक्क पारिएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाकै महत्वपूर्ण स्थान महापोखरीलाई सरसरफाइ तथा रंगरोगन गरी चिटिक्क पारिएको हो । रेसुंगा संरक्षण समितिले रेसुंगाको संरक्षण गर्दै आइरहेको छ ।
रेसुंगा महापाखरीलाई सरसफाइ, रङ्गरोगन गरी विधिपूर्वक अयोध्या, प्रयागबाट गंगा जमुना सरस्वती नदीको जल, कासी, गया, कालीगण्डकी, मुक्तीनाथ, कागबेनी, बराह क्षेत्र चतराधामबाट ल्याइएको जल समेत मिश्रण गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । अध्यक्ष भुसालले यो पवित्र स्थल महापोखरीमा स्नान गर्नाले भुल भएर गरिएका पापहरु नष्ट हुने धार्मिक जनविश्वास रहँदै आएको छ । बिशेष गरी यस महापोखरीमा श्रावण महिनामा स्नान गर्ने भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

श्रावणी महिनामा रेसुंगा धाममा पुन्यलाभका लागि आउने भक्तजनहरुले आफुसँग भएका फलफूलका बिरुवाहरु यज्ञशाला प्रवेशद्वारा देखि यज्ञशाला परीसरसम्म रोपण गरी जीवनलाई सार्थकता प्रदान गर्न र प्रकृतिको संरक्षण तथा हराभराका लागि सामाजिक योगदान पुर्याउन समेत उहाँले आग्रह गर्नुभयो ।
रेसुंगा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले महापोखरी स्नान गरी पुण्य प्राप्ति गर्न भक्तजनहरुलाई आग्रह गर्नुभयो । उहाँले महापोखरीमा फूलप्रसाद, र भेटी नराखीदिन अनुरोध गर्नुभएको छ ।
उहाँले भेटीदानका लागि महापोखरी प्रवेश गर्ने दुवै स्थानमा भेटी पेटिका, राखिएको र अगरबत्ती बाल्नका लागि समेत छुट्टै स्थानको व्यवस्थापन गरिएकोले निर्धारित स्थानमा मात्र भेटी चढाउन तथा अगरबत्ती बाल्नका लागि आग्रह गर्नुभयो । यसले महापोखरीको व्यवस्थापनमा सहयोग र मद्दत पुर्याउँने विश्वास व्यक्त गर्नुभयो ।
यस पटकबाट रेसुंगा धामको दर्शनका लागि जाने भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर यज्ञशालाको प्रवेशद्वारको प्राङ्गणमा फूल, प्रसाद, माला, अगरबत्ती, तथा पुजनका लागि आवश्यक पर्ने सम्पूणर् सामग्रीहरु सहितको व्यवस्था मिलाइएको छ ।