शिक्षा सम्बन्धि विधेयक सदनमा दर्ता नहुँदै फेरी आन्दोलनको धम्कि
काठमाडौं – मन्त्रीपरिषद्ले सदनमा दर्ता गर्ने स्विकृति दिएको ११ दिन सम्म पनि शिक्षा मन्त्रालयमा नै आईनपुगेको विद्यालय शिक्षा सम्बन्धि विधेयक सदनमा दर्ता नहुँदै नेपाल शिक्षक महासंघले फेरी आन्दोलनको धम्कि दिएको छ । विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहँदै आएको महासंघले उक्त व्यवस्था लक्षित गर्दै मिति नै किटान गरेर आन्दोलनको धम्कि दिएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर नयाँ संघीय शिक्षा ऐन संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरीका शिक्षक कर्मचारी उपस्थित भई काठमाडौंमा लगातार विरोध प्रर्दशन गर्ने महासंघले जनाएको छ । यसरी प्रदर्शन गर्दा बालबालिकाको पठनपाठनमा क्षती हुने तर्फ भने महासंघका पदाधिकारी गम्भिर देखिएका छैनन् । महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय नै ठप्प पार्न समेत पछि नपर्ने भन्दै अनिश्चितकालिन विद्यालय बन्दको अवस्था नआउला भन्न नसकिने समेत बताईन् ।
पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम सार्वजनिक गदै महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले पहिलो चरणमा पालिका, जिल्ला र प्रदेश स्तरमा धर्ना, आफ्ना मागहरुबारे सांसदहरुलाई जानकारी दिने, राजनीतिक दलका नेता सहित संसदीय दलका सचेतकहरु र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने तय गरेको बताए । दोश्रो चरणमा शिक्षा ऐन संसदमा दर्ता भएको पाँचौ दिनबाट काठमाडौंमा प्रर्दशन गर्ने उनले घोषणा गरे ।