४० बर्षदेखि बाँझिएकाे जग्गामा चक्लाबन्दी मार्फत फलफूल खेती



गुल्मी –  ४० बर्षभन्दा बढी बाँझो रहेको जग्गामा अहिले खेती सुरु गरिएको छ भन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । जिल्लाको रेसुङ्गा नगरपालिका –०४ का कृषकहरुले १५ देखि ४० बर्ष बाँझो रहेको जग्गालाई फँडानी गरी अहिले चक्लाबन्दी खेती सुरु गरेका छन् । सुन्तलाजात फलफूल उत्पादन चक्लाबन्दी समितिको अयोजना एवम् कृषि ज्ञान केन्द्र र रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा कृषकहरुले चक्लाबन्दी खेती सुरु गरेका हुन् । ‘चक्लाबन्दीमा सुन्तला÷कागतीको नमुना बगैंचा स्थापना कार्यक्रम’ नाम दिइएको खेतीमा अर्खलेका ३१ परिवार सहभागी छन् ।

उनीहरुले बर्षौदेखि बाँझो रहेको कुल १३० रोपनी जग्गामा भएका झाडी एवम् रुखहरु फँडानी गरी अहिले एक हजार आठ सय सुन्तला र एक हजार चार सय कागती गरी तीन हजार दुई सय बिरुवा लगाएका छन् । गत जेठ १७ गतेबाट सुरु गरिएको कार्यक्रममा अहिलेसम्म जंगल एवम् झाडी फँडानी, गहसुधार, कृषि सडक निर्माण एवम् विरुवा रोपण गरिएको समितिका अध्यक्ष चोलराज शर्माले बताए । ‘विभिन्न कारणले बर्षौदेखि बाँझो रहेको जग्गाको सदुपयोग गरेका हौँ ।’ अध्यक्ष शर्माले भने, ‘यसबाट मनग्य आम्दानी गर्ने लक्ष्य छ ।’


Advertisement

अहिले बाँदरले सताइरहेको सन्दर्भमा कागतीमा बाँदरले पनि क्षति नगर्ने उनको भनाई छ । समितिले शनिबार एक कार्यक्रमको अयोजना गरी खर्च समेत सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले कृषिबाट नै समृद्धिको आधार खोज्न सकिने भएकोले यो चक्लाबन्दी कार्यक्रमलाई आफ्नो कार्यकालको उत्कृष्ट योजना बनाउने लक्ष्य रहेको बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले चक्लाबन्दी सुरु गर्नुमात्रै भन्दा पनि यसको दीगोपना हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद अर्याल, वडाध्यक्ष लिलाधर आचार्य, कृषि ज्ञान केन्द्रका विभिन्न तहका कर्मचारी, कार्यपालिका सदस्य सावित्रा श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, स्थानीय उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

चक्लाबन्दी कार्यक्रमको लागि कृषि ज्ञान केन्द्रको १० लाख ८७ हजार २४, नगरपालिकाको ०४ नम्बर वडा कार्यालयबाट एक लाख एवम् उपभोक्ता समितिले आठ लाख २४ हजार २३५ गरी कुल २३ लाख २४ हजार २४० रुपैँया लागत लागेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.