केराखेतीमा गोबारो किरा र रोग, कृषक मारमा
गुल्मी – गुल्मी मालिका गाउँपालिका ०६ अर्जैकी पितम कुमारी अर्याल उमेरले ६१ वर्षकी भइन् । उमेरले बुढ्यौली लागे पनि उनको जोस जागँर कुनै युवाको भन्दा कम छैन। कुनै समय उनको दैनिकी घरको काम र गाइबस्तुको हेरचाहमै बित्थ्यो। तर, आजभोली अर्यालको दैनिकी फेरिएको छ ।
बिहान आफ्नो घरको धन्दा सकेर उनी प्रायः बेलुकासम्म केरा बगैँचामै हुन्छिन् । २०६४ सालमा ४ बोटबाट सुरु गरेको केराखेती वर्षेनी फस्ट्याउँदै आएको छ । अर्यालको बारी यतिबेला केरा बगैँचा नै बनेको छ । उनको बगैँचामा झण्डै डेढ सय केराका बोट छन् ।
परम्परागत शैलीमा सुरु गरेको केरा खेती अहिले व्यावसायिक बनेको छ । उनले ५ रोपनी क्षेत्रफलमा केरा र तरकारी खेती गरिरहेकी छिन् । अर्यालले तरकारी तथा केरा खेतीबाट भएको आम्दानीले छोराछोरीको पढाइ तथा घर खर्च चलाउँदै आएकी छन् । केरामा गोबारो र रोगले बोट ढल्ने फल नलाग्ने गरेको अर्यालको गुनासो छ । उनि भन्छिन्, ‘केरा बिना विषादी गाउँमै उत्पादन हुने हुँदा राम्रै बजार पाएको छ। तर, रोग र किराका कारण केरा उत्पादन बढाउन सकिएको छैन्। लोकल केराको प्रतिगोटा २० रुपैयाँमा गाउँमै बिक्री हुन्छ ।
अर्यालले जस्तै सोही गाउँका धनिश्वर विष्ट वर्षौदेखि केरा तथा तरकारी खेतीमै तल्लीन छन् । बिष्टको कृषिकर्म देखेर जोकोहिकै मन लोभ्याउँछ । उनले तरकारी तथा फलफूलबाट घरखर्च र परिवारको दैनिकी धान्दै आएका छन् । विष्टका ९ छोरा छन् । उनका ९ छोरामध्ये ७ भाई सरकारी सेवामा १ छोरा अमेरिका र १ छोरा भाई व्यावसायमा आवद्ध छन् ।
यसलाई कृषिकर्मले दिएको सफलता मान्न सकिन्छ । उनी कृषीकर्मबाट उदाएका गाउँकै एक उदाहरणीय पात्र हुन् । पछिल्लो समय उनलाई छोराले समेत सघाउँदै आएका छन् । शिक्षक समेत रहेका छोरा अर्जुन बिष्टले २०७१ सालदेखि विभिन्न प्रजातीका दुईसय केराका बोट विस्तार गरेका छन् ।
मालिका गाउँपालिकाका केहि वडामा मात्रै केरा खेती हुन्छन् । जिल्लाभरमा कम केरा उत्पादन हुने दोस्रो स्थानीय तहमा पर्छ मालिका गाउँपालिका । कृषकमा प्राविधिक ज्ञान,तालिम,केराखेती बारे ज्ञानको कमीले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाईको अभावमा बोट मर्ने समस्या रहेको कृषि प्राविधिक प्यारीलाल फडेराले जानकारी दिए ।
वडा कार्यालयले कृषकको समस्या पहिचान गरी समधान गर्न वडामा कृषि प्राविधिक समेत राखेको छ । व्यावसायिक कृषि तथा फलफुल खेतीगर्ने कृषकलाई प्राविधिक मार्फत आफ्ना समस्या राख्न र समधान गर्न उचित कार्यक्रम गरिने मालिका गाउँपालिका ६ का वडाध्यक्ष दीपक भण्डारीले बताए । पछिल्लो समय ग्रामिण क्षेत्रका कृषकको केराखेतीमा आर्कषण बढ्दै गएको छ । तर,केरामा लाग्ने रोग किरा र प्राविधिक ज्ञानको अभावका कारण गुल्मीका कृषकले केराबाट मनग्य आम्दानी भने लिन सकिरहेका छैनन् ।