गुल्मी महोत्सवमा एक लाख दर्शक भित्राउने लक्ष्य
गुल्मी – गुल्मीमा ऐतिहासिक प्रथम महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघको आयोजनामा आउँदो कात्तिक १५ गतेदेखि २५ गतेसम्म ऐतिहासिक प्रथम महोत्सव हुन लागेको हो । नेपालीहरुका महान पर्व बडादशैं र तिहारको अवसरमा जिल्ला बासीको बाक्लो उपस्थिती हुने त्यहि समयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको आयोजके जनाएको छ । महोत्सव मार्फत गुल्मीलाई देशभर चिनाउन सकिने भएकाले ऐतिहासिक प्रथम महोत्सव गर्न लागिएको बारे शनिबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।
जिल्लाभरका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको महोत्सवको माध्यमबाट प्रचारप्रसार गरेर गुल्मीलाई देश विदेशमा चिनाउने आयोजकले उदेश्य लिएको छ । महोत्सवमा जिल्ला र स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई प्राथमिकतामा राखिने भएको छ । ११ दिन जिल्ला सदरमुकाम तम्घासको खालाका चौरमा चल्ने महोत्सवले रेसुङ्गा नगरपालिकाले संचालन गरेको ‘जाउँ हिँड’ रेसुङ्गा, तम्घासस्थान मन्दिर सहित जिल्लाभरका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा थप टेवा पुग्ने गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।
“देशमा आर्थिक मन्दीले व्यापार व्यावसाय सुनसान छन्” अध्यक्ष भुसालले भने “त्यसको चलायमान र समग्र गुल्मीको विकासमा टेवा दिन हामीले महोत्सवको आयोजना गरेका हौं।” १ लाख दर्शक भित्र्याएर झण्डै ६० करोड कारोवार गर्ने आयोजकले लक्ष्य लिएको छ । जिल्लामा ठुला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवद्वन गर्ने ऐतिहासिक प्रथम महोत्सव आयोजना गरिएको अध्यक्ष भुसालको भनाइ छ ।
महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामाग्रीको प्रर्दशन गरिनुका साथै कृषि उत्पादनको प्रर्दशन गरेर बजारीकरणमा टेवा पुग्ने अपेक्षा लिएको छ । महोत्सवमा स्थनीय उत्पादनको प्रदर्शनसँगै राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवले जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धनसँगै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार महत्वपुर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । महोत्सवमा २ सय ५० स्टल रहने छन् । स्थानीयलाई स्टलमा २० प्रतिशतसम्म छुट गरिने गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले जानकारी दिए ।
महोत्सवमा प्रवेशको लागि विद्यार्थीको ५० रुपैयाँ टिकट र सर्वसाधारण नागरिकको लागि १ सय रुपैयाँ शुल्क तोकिएको महासचिव खनालले बताए । बिगतका बर्षमा गुल्मी उद्योग वाणिज्य सघ र चेम्बर अफ कर्मश गुल्मीले गर्दै आएका थिए । महोत्सव हालसम्म जिल्लाको सदरमुकाम तम्घास बजारस्थित चिदिचौरमा गरिएपनी यसपटकको महोत्सव उपल्लो तम्घासको खालाका चौरमा हुने भएको छ । चिदिचौर खेलमैदान सौन्दर्यकरण गर्ने भएकाले रेसुङ्गा नगरपालिकाले मेला महोत्सवमा रोक लगाएको छ ।