रेसुङ्गा र मदाने वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान



गुल्मी – “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।”

रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमच्च महाचिल, डंगर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल तथा मदाने क्षेत्रमा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द, डंगर गिद्दल, कस्मेरी मट्टा र काँडेभ्याकुरलगायतका दुर्लभ चरा भेटिएको उनले बताए ।


Advertisement

यी संरक्षित क्षेत्रमा नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि भेटिएको उनले जानकारी दिए । नेपालमा पाइने आठ सय ९२ प्रजातिमध्ये गुल्मीमा मात्रै ३५ प्रतिशत रहेको उनको भनाइ छ ।

सङ्घको गणनाअनुसार रेसुङ्गामा दुई सय ५९ प्रजाति र मदाने क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका छन् । यी दुवै क्षेत्रमा गरी विभिन्न तीन सय पाँच प्रजातिका चरा भेटिएको सङ्घको भनाइ छ ।

नेपालमा मात्र पाइने काँडेभ्याकुरको संरक्षण अति आवश्यक भएको भन्दै चराको बासस्थान जोगाउन जनप्रतिनिधिको भूमिका थप महत्वपूर्ण हुने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जीवन पङ्गेनीको भनाइ छ ।

सङ्घले जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै आइरहेको छ । कार्यक्रमले यी वन क्षेत्रसँग जोडिएका स्थानीयका लागि वन संरक्षण र सम्वद्र्धनसँगै जीविकोपार्जनका क्षेत्रमा लागि काम गरिरहेको छ । संस्थाले विगत छ वर्षदेखि यी दुई वन संरक्षण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दैै आएको हो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मीलाई चरा पर्यटनको गन्तव्यका रुपमा विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय तहवाट आवश्यक सहयोग गर्ने बताए ।

नेपाल पंक्षी संरक्षण सङ्घले डढेलो, विद्युतीय प्रशारण लाइन र वन्यजन्तु एवं चराचुरुङ्गीको अवैध सिकारलगायतका समस्यालाई चरा संरक्षणको चुनौतीका रुपमा लिएको छ ।स्रोत : रासस

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.