रेसुङ्गामा पूजाआराधाना गर्ने भक्तजनको घुइँचो



मंसिर ०८,गुल्मी – एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर मनाउने प्रचलन छ। हरिबोधिनी एकादशी पर्वको अवसरमा गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा पूजाआराधाना गर्ने भक्तजनको घुइँचो लागेको छ। एकादशीको दिन रेसुन पोखरीमा स्नान गर्ने, तुलसीको विवाहसँगै विभिन्न भगवान्‌को पूजाआरधाना गर्ने श्रद्धालुको घुइँचो लाग्ने गरेको हो।

एकादशी पर्वका अवसरमा धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा व्रत बसेर पोखरीमा स्नान गरी पूजा गरेपछि मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ। रेसुङ्गामा पूजा गर्न एकादशीका दिन गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची लगायतका जिल्लाबाट श्रद्धालु भक्त आउने गरेको रेसुन संरक्षण समितिले जनाएको छ ।


Advertisement

रेसुङ्गमा एकमहिने साउने मेला, साउने आँसी, एकादशी र दैनिक पूजाआजा हुन्छ। यस क्षेत्रको अवलोकन गर्न विभिन्न स्थानबाट समेत पर्यटक आउने गरेका छन्। पछिल्लो समय रेसुङ्गमा पुग्ने सडक कालोपत्रे र जिल्लाको सदरमुकाम तम्घास बजारदेखि सवारीको पहुँच भएकाले प्रत्येक वर्ष श्रद्धालु र पर्यटकको संख्या बढ्दो छ।

विगतका तुलनामा रेसुङ्गामा हरेक समय लाग्ने मेला थप व्यावस्थित भएकाले विभिन्न स्थानबाट भक्तहरू आइरहेको श्रदालु मनिषा राणाले बताइन्। पहिले भन्दा अहिले रेसुङ्गामा धेरै मन्दिर व्यवस्थित गरिएको छ। उनले भनिन्, ‘सदरमुकाम तम्घासदेखि नजिकै रहेको यस धार्मिकस्थलमा विश्वास बढ्दै गएकाले दैनिक पर्यटकको संख्या बढिरहेको छ।’

प्राकृतिक सम्पदा र सौन्दर्यताले भरिपूर्ण मानिने रेसुङ्गमा चिसो हावापानी, वनस्पति, जीवजन्तू र पशुपन्छीको विविधता पाइन्छ। रेसुङ्गमा अवस्थित भ्यु टावरबाट अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे हिमशृंखलासहित तम्घास बजारको अवलोकन गर्न सकिन्छ। चिसो हावापानी, घना वन र जैविक विविधताले त्यहाँ पुग्ने जो कोहीलाई मोहित पार्छ।

जिल्लाको गौरव बढाउने ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुङ्गामा पर्यटक भित्र्याउन रेसुङ्गा नगरपालिकाले जाऊँ हिँड रेसुङ्गा अभियान नै चलाएको छ। जसले रेसुङ्गमा पुग्ने आन्तरिक पर्यटक तथा श्रद्धालुको संख्यामा वृद्धि भइरहेको पाइन्छ। विगतका वर्षको तुलनामा मेला र व्यवस्थापनमा थप गरिएको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष राजेन्द्र पाण्डेयले जानकारी दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.