चन्द्रमा बचत सहकारीद्धारा जेष्ठ नागरिक, बचतकर्ता र विद्यार्थी सम्मानित
गुल्मी – चन्द्रमा बचत तथा ऋण सहकारी संस्था गुल्मीले १० औं बार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिक, बचतकर्ता र विद्यार्थी सम्मान गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी संस्थाले सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईइ परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने रिया बुचा, दिविसा अर्याल,अनमोल क्षेत्री, उत्कृष्ट बचतकर्ता तर्फ यमलाल भण्डारी, उत्कृष्ट ऋणी तथा उद्यमी तर्फ झुपा बगाले र जेष्ठ नागरिक सूर्यबहादुर सार्की संस्थाबाट सम्मान गरेको हो । त्यस्तै छरिएर रहेको पुँजीलाई एकीकृत गरेर बचत तथा ऋण मार्फत आर्थिक समृद्धका परिकल्पना गर्ने प्रकाश भलामी संस्थाबाट सम्मानित भएका छन् ।
१० बर्ष पहिले सदरमुकाम तम्घासमा सेयर सदस्यबाट बचत संकलन र आवश्यक ऋण प्रवाहको लक्ष्य सहित स्थापना भएको सहकारीले जिल्लामा राम्रो काम गरेको जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर थापाले बताए । भुपु सैनिकले संचालन गरेको उक्त संस्थाले हालसम्म गरेका कामको प्रशंसा गर्दै अध्यक्ष थापाले केही सहकारीका संचालक र कर्मचारीले गरेको अनियमितता र लापरबाहीका कारण देशका केही सहकारी डुबिरहेको बताए ।
उनले केही सहकारीका संचालक र कर्मचारीले गरेको बदनामीका कारण समग्रह सहकारीमा नागरिकको विश्वसनीयता घट्दै गएको उनले बताए ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले सहकारी संचालकमा इमानदारीता र कर्मचारीमा कार्यदक्षता भएमा जस्तोसुकै परिस्थितीको चपेटामा परेपनि सहकारी संस्था अब्बल र सफल हुने बताए ।चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाका कोषध्यक्ष कृष्ण बहादुर पराजुलीले आर्थिक बर्षमा संस्थाले गरेको आर्थिक कारोबारको प्रतिबेदन पेश गरेका थिए ।
जसमा संस्थाको यस चालू आर्थिक बर्षमा चार करोड १३ लाख ६७ हजार ८७ रुपैयाँ ३७ पैसा कुल पुँजी रहेको छ । ८६ लाख ९३ हजार सेयर पुँजी रहेको उक्त संस्थामा दुई करोड ९८ लाख ७४ हजार पाँच सय ३४ रुपैयाँ २८ पैसा बचत रहेको सहकारीले जनाएको छ । सहकारी संस्थाले मृत्यु हुने सेयर सदस्यहरुलाई समवेदना कोषबाट रु ५ हजार प्रदान गर्दै आएको छ । भुपु सैनिकले संचालन गरेको उक्त संस्थामा हाल अन्य साधारण सदस्य जोडिएर छ सय तीन सदस्य पुगेका छन् ।