साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न



सूर्य सुनार /पौष १०,गुल्मी- साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा गरिएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष हरिप्रसाद छन्तेलको सभापतित्वमा सोमबार संचालन भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेल प्रमुख अतिथि थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स–साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरेका थिए ।


Advertisement

किसानहरु साना नभई सबैभन्दा ठुला भएको र कृषि पेशालाई अधुनिकिकरण गर्नुपर्ने धारणा राख्दै, कृषिलाई परम्परागत भन्दा पनि ब्यबसायीकरण गर्दै लैजानुपर्ने बताए । नगरपालिकाले पनि पहिलो प्राथमिकता कृषिलाई दिएको बताउदै उनले कुनै युवाले आफ्नै ठाउँमा कृषिमा केहि गर्ने सोच बनाएको भए नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले साना किसान कृषि सहकारी संस्थाले शेयर सदस्यको क्षेत्रमा कृषि उत्पादन संगै रोजगारीको वातावरण सिर्जना गरेको भन्दै जिल्लामै नमूना काम गरेको प्रति प्रशंसा गरे ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष हरिप्रसाद छन्तेलले संस्था संचालन गर्दा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै आगमी दिनमा पनि यसै गरि सहयोगको अपेक्षा राखेका थिए ।

सहकारीबाट शेयर सदस्यलाई ऋण प्रवाह गर्दा कृषि र पशुपालन क्षेत्रमा लगानी गरिएको हुँदा त्यसको प्रतिफल स्वरुप संस्थाको साधारण सभामा कृषि प्रर्दशर्नी गरिएको साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक विवेक पेमी मगर बताउँछन् ।

मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख गंगा प्रोखरेल, मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रविन्द्र केसी लगायतले १८ औ वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए।उत्कृष्ट कृषक सम्मान, ७० वर्ष पुगेका जेष्ठ नागरिक सम्मान कृषि प्रर्दशर्नी, अध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सहकारीमा हाल सदस्य संख्या एक हजार दुई ६४ जना रहेका छन् । जस मध्ये महिला आठ सय ६७ र पुरुष तीन सय ९७ रहेका छन् । संस्थामा चुक्ता शेयर पुँजी ८५ लाख ७० हजार रहेको छ । चालु आर्थिक वर्षमा ऋण लगानी १३ करोड ६६ लाख रहेको छ । लगानी हिसाब ४२ लाख सात हजार रहेको छ । नगद बाँकी रकम ३३ लाख ७० हजार रहेको छ । बैंक बाँकी रकम रकम १० करोड ५५ लाख रहेको संचालक समिति अध्यक्ष छन्तेलले जानकारी दिए । हाल सहकारीमा पाँच जना कर्मचारीले काम गरिरहेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.