चौथो फोर्टिन स्टार कपको बिजेता बन्यो अर्जै मावि
गुल्मी – गुल्मीमा पौष ७ गतेदेखि संचालन भएको चौथो फोर्टिन स्टार कप–२०८० को बिजेता अर्जै माध्यमिक विद्यालय बनेको छ । विहिबार सम्पन्न फाइनल खेलमा महेन्द्र नमुना माध्यमिक विद्यालयलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जै माविले उपाधि जितेको हो । जिल्लाको सदरमुकाम तम्घासमा अवस्थित फोर्टिन स्टार युवा क्लवले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको उप विजेता महेन्द्र माध्यमिक विद्यालय बनेको छ ।
पहिलो दास्रो र तेस्रो फोर्टिन स्टार कप लगातार महेन्द्र माध्यमिक विद्यालयले हात पार्दै आएको थियो । २०७७ सालमा भएको तेस्रो फोर्टिन स्टार कपको बिजेता महेन्द्र नमुना माध्यमिक विद्यालय हुदाँ अर्जै माध्यमिक विद्यालय उप बिजेता बनेको थियो ।चौथो फोर्टिन स्टार कपको बिजेता बनेको अर्जै माध्यमिक विद्यालयले ३५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । महासचिव आर्चायका अनुसार त्यस्तै उप बिजेत बनेको महेन्द्र नमुना माध्यमिक विद्यालयले २५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोतामा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई समेत आयोजकले सम्मान गरेको छ । २०६७ सालमा स्थापना भएको क्लवले विगतका बर्षदेखि जिल्लामा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । फुटबल प्रतियोगिताले रेसुंगा नगरपालिकाले संचालन गरेको ’जाऔं हिँडौं रेसुंगा’ अभियानलाई समेत थप टेवा पुगेको आयोजकले जनाएको छ ।
नकाउट प्रणालीमा संचालन भएको प्रतियोगितामा जिल्लाभरबाट १९ वटा विद्यालयले सहभागिता जनाएका थिए । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लबले छात्र र पुल्चोक स्पोर्ट क्लबले छात्रा बिच फुटबल प्रतियोगिता गर्दै आएका छन् । जिल्लाको सदरमुकाम तम्घास चिदिचौर खेल मैदानमा संचालित माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन, खेलको विकास र विस्तारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा लिएको क्लवका अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिए ।
पछिल्लो समय शहरका विद्यालयहरुमा हुने फुटबल खेलको मोह गाउँका विद्यालयसम्म पुग्ने गरेको छ । सहयोगदाताको भरमा संचालन गरिएका खलले खेलडाीको उत्पादन संगै खेलको विकास गरिरहेको छ । सदरमुकाम केन्द्रित हुने फुटबलको ट्रफी गाउँको विद्यालयले उचालेको छ । जसले दुर्गम भेगका खेलाडीमा समेत खेलमा उत्साह थपिएको छ । चौथो फोर्टिन स्टार कपमा रेसुंगा नगरपालिका बाहेकका इस्मा गाउँपालिकाको पालुखा माध्यमिक विद्यालय, मालिका गाउँपालिका भित्रका मालिका माध्यमिक विद्यालय देविस्थान माध्यमिक बिद्यालय,अर्जै माध्यमिक विद्यालय र मदाने गाउँपालिकाको पृथ्वी माध्यमिक बिद्यालय सहभागी थिए ।