गुल्मीमा बाँदरले सास्ती दिन थालेपछि झाडी फडानी



गुल्मी : गुल्मीमा बाँदर र बँदेलले सास्ती दिन थालेपछि झाडी फडानी सुरु भएको छ। जिल्लाको रेसुंगा नगरपालिका-१ मा बाँदर र जंगली जनावरले सास्ती पुर्‍याएको नागरिकले गुनासो गरेपछि वडा कार्यालयले कुकाठ र झाडी फडानी सुरु गरेको हो।  

वडा कार्यालयमार्फत झाडी फडानी गरेसँगै छोरा छोरीलाई विद्यालयमा आवतजावत र बारीमा तरकारी रोप्न थप सहज हुने अपेक्षा लिएको स्थानीय सुन्तली कामीले बताइन्। ‘पहिले घनाघोर झाडी र रुखका कारण पारी गाउँ देख्न, छोराछोरी स्कुल पठाउन मुस्किल पर्थ्यो,’ उनले भनिन्, ‘वडाले झाडी र कुकाठको फडानी गरेपछि बस्तीसँगै मेरो मन समेत उज्यालो बनेको छ।’


Advertisement

यतिबेला घनाघोर झाडी फडानीले गाउँ उज्यालो बनेको छ। बाक्लो झाडी र कुकाठका कारण बाँदरले हैरानी दिएको र धपाउन समेत मुस्किल परेको स्थानीय शान्ता पन्थीले बताइन्। बाँदरले घर भित्र्याएको अन्नबाली सखाप बनाउने र प्रायः दुख दिने गरेको किसान बताउँछन्। 

कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्नुपर्ने अवस्था आएको छ। वडा कार्यालयले  यस वर्ष आर्दश बोर्डिङदेखि २ नम्बर वडा कार्यालयको सिमानासम्म फडानी गरेको छ। 

गतवर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो। त्यसबाट राम्रो प्रतिफल नआएपछि यस आर्थिक वर्ष कुकाठ, बाँस र झाडी फडानी गरी नागरिकलाई सहजता दिने उद्देश्य रहेको  वडाध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए। 

यस आर्थिक वर्षमा कुकाठ र झाडी फडानी गर्न वडा कार्यालय मार्फत ७० हजार विनियोजन गरिएको छ। फडानी गरेको खाली जग्गामा कागती, टिमुर,अदुवा, पिडालु, बेसार लगायतका फलफूलका बिरुवा रोप्ने वडाध्यक्ष पन्थीले बताए। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.