गुल्मीमा आयुर्वेद पसल सिल, छानबिनको लागि समिति गठन
गुल्मी –सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको सफल र सम्पन्न आयुर्वेद पसल छानविन गर्न समिति गठन गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
त्यस्तै छानबिन समितिको सदस्यमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डाक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यमान चौंधरी रहेका छन् ।
गठन गरिएको उक्त समितिले माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन पेश गर्ने गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । प्रतिवेदनको आधारमा आयुर्वेद पसलका संचालक दोषी देखिएमा कानून अनुसारको कारवाही हुने गैरेले बताए । जिल्लाको सदरमुकाम तम्घास पुरानो बजारमा विगत लामो समयदेखि संचालन भइरहेको उक्त आयुर्वेद पसलले गैरकानुनी ढंगले उपचार र ल्याब सेवा सञ्चालन गरेकोले प्रशासनले सिल गरेको थियो । उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधीहरु राख्ने गरेको, एक्स–रे तथा भिडियो–एक्सरे सेवा, फिजियोथेरापी र नेबुलाइजर सेवा प्रवाह गरेको प्रशासनले जनाएको छ ।
रमेश अधिकारी दम्पत्तीले संचालन गर्दै आएको सफल र सम्पन्न आयुर्वेद पसलले नियमित विपरित संचालन गरेको जनगुनासो आएपछि प्रशासनले अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला परेपछि उक्त पसल सिल गरेको र छानविन गर्न समिति गठन गरिएको प्रजिअ शर्माले बताए ।