गुल्मीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने



गुल्मी – गुल्मीमा यही माघ २४ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । बिहीबार बसेको जिल्ला खेलकुद विकास समितिको बैठकले माघ २४ देखि २६ गते तीन दिनसम्म तम्घासको चिदिचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी विभिन्न चार विधामा खेल हुनेछन् । जसमा भलिबलतर्फ छात्र÷छात्रा एवं कबड्डीतर्फ पनि छात्र÷छात्राको खेल हुनेछ । त्यसैगरी छात्र÷छात्राको एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटर दौड एवं चार सय मिटर रिले दौड हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


Advertisement

छात्र÷छात्रातर्फ नै हाइजम्प, लङजम्प, त्रिपलजम्प प्रतियोगिता हुनेछ । छात्रतर्फ ज्याभलिङ थ्रो आठ सय ग्राम र सटफुट १२ पाउण्डको खेल हुुनेछ । त्यस्तै छात्रातर्फ ज्याभलिङ थ्रो छ सय ग्राम र सटफुट आठ पाउण्डको हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिए ।

मार्सल आर्टतर्फ छात्र÷छात्रा कराँते, छात्र÷छात्रा तेक्वान्दो, छात्रातर्फ पुम्से, छात्र÷छात्रा थाओलु र सान्सौ प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगितामा जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहनेछ । जसमा कोच, खेलाडी र विभिन्न पक्षबाट गरी नौ सय बढीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.