गुल्मीमा स्थानियद्वारा एम्बुलेन्स माग
मनु सुनार / फागुन ०८,गुल्मी – गुल्मीको पराल्मीबासीले एम्बुलेन्सको माग गरेका छन् । जिल्लाको रेसुंगा नगरपालिका-१४ का पराल्मीबासीले एम्बुलेन्सको माग गरेका हुन् । रेसुंगा नगरपालिकाको आयोजनामा सन्चालित एक कार्यक्रममामा स्थानीय सुशील सूर्यवंशीले गाउँमा एउटा एम्बुलेन्सको आवश्यक रहेकाले यसको प्रबन्ध मिलाउन जनप्रतिनिधि समेक्ष आग्रह गरेका छन् ।
गाउँमा एउटा एम्बुलेन्स नहुँदा बिरामीले अस्पताल पुग्दा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको स्थानीय सूर्यवंशीले गुनासो गरे ।‘कोही बिरामी भए राम्रो उपचारको लागी सदरमुकाम तम्घास लगायत बाहिर सवारी साधन रिजर्भ गरेर जाँदा महङ्गो शुल्क तिर्न बाध्य छौं ।’ उनले भने,-‘यसका लागि यहाँका नागरिकहरुलाई एम्बुलेन्सको आवश्यकता छ । यसको लागि नगरपालिकाले सहयोग पहल कदमी गर्दिनुपर्यो ।’
अर्का स्थानीय केशवप्रसाद पोखरेलले कृषकहरुलाई उत्साहित बनाउन रेसुङ्गा नगरपालिकाले पशुपालनमा नश्लसुधारका कार्यक्रम ल्याउनुपर्ने बताए । सिंचाईको अभाव समेत रहेको बताउँदै पोखरेलले वडालाई आलु र तरकारीका लागि पकेटक्षेत्र बनाउन सबै लाग्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा वडा कार्यालयबाट हुने विकास निर्माण र योजना छनौट प्रक्रियामा सबैलाई समावेश गरी लैजान स्थानीय दिवाकर पोखरेलले माग गरेका थिए । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्थानीय नागरिकहरुले राखेका जिज्ञाशा, सल्लाह र सुझावहरुको सम्बोधनका लागि आफुहरु सधैं केन्द्रित रहेको बताए ।
भूगोलले कठिनाई भएको वडा भएका कारण आगामी आर्थिक वर्षमा पनि वडा नम्बर चौधलाई बिशेष प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने मेयर पन्थीले बताए । एम्बुलेन्स सञ्चालनका लागि नगरकार्यपालिका बैठकमा छलफल गरेर उपलब्ध गराउने विश्वास व्यक्त गरे ।