एसईईमा ३.२ जीपीए ल्याउने विद्यार्थीलाई रेसुङ्गाले मासिक एक हजार दिने
गुल्मी – माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३.२ जीपीए ल्याउने विद्यार्थीलाई रेसुंगा नगरपालिका गुल्मीले प्रोत्साहन स्वरूप रकम दिने भएको छ। एसईईमा ३.२ वा सोभन्दा बढी जीपीए ल्याएर नगरभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक एक हजार दिने निर्णय गरेको हो।
जिल्लाभरका जुनसुकै विद्यालयबाट आएर नगरभित्रका विद्यालयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई मासिक एक हजार प्रदान गरिने नगरपालिकाले जनाएको छ। नगरकार्यपालिकाको बैठकले विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पीताम्बर पन्थीले जानकारी दिए।
गत आर्थिक वर्षमा ३.२ वा त्योभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरूप चार हजार प्रदान गर्दै आएको थियो। तर, यसवर्ष नगरले पहिलेको निर्णयलाई परिमार्जन गरी मासिक एक हजार दिने निर्णय गरेको हो। पहिलो वर्ष १६ जना विद्यार्थीले प्रोत्साहन रकम प्राप्त गरेका थिए। यो आर्थिक वर्षमा जिल्लाभरका सबै विद्यार्थीलाई समेट्ने गरी एक हजार उपलब्ध गराउने निर्णय भएकाले पहिलेको निर्णय परिमार्जन गरिएको नगरप्रमुख पन्थीले बताए।
‘पछिल्लो समय गाउँको पढाइ छोडेर गुणस्तरीय शिक्षाको खोजीमा बसाइँसराई गरी शहर जानेको संख्या दैनिक बढ्दो छ, ‘उनले भने’ विद्यार्थीलाई गाउँमै रोक्न र नगरभित्रका विद्यालयमा संख्या बढाउन प्रोत्साहन स्वरूप मासिक रकम उपलब्ध गराउने निर्णय गरेका हौं।‘ नगरपालिकाले प्रदान गर्ने प्रोत्साहन रकम नगरभित्रका विद्यालयमा कक्षा ११ मा भर्ना हुने जिल्लाभरका जुनसुकै विद्यार्थीले पाउने छन्। यो सुविधा कक्षा ११ र १२ मा पनि प्राप्त गर्नेछ। यस कार्यक्रमका लागि नगरपालिकाले वार्षिक २७ लाख लागत लाग्ने अनुमान गरेको छ।
नगरकार्यपालिकाको बैठकले विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पीताम्बर पन्थीले जानकारी दिए। प्रोत्साहन रकम लिन चाहने विद्यार्थीले नगरभित्रकै विद्यालयमा अध्ययन गर्नुपर्नेछ। जिल्लाको सदरमुकाम तम्घासलाई शैक्षिक हबको रुपमा विकास गर्दै बसाइसराईलाई कम गर्ने उक्त कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख पन्थीले बताए।
आर्थिक वर्ष २०७९ मा नगरपालिकाभित्रका विद्यार्थीलाई मासिक चार हजारका दरले उपलब्ध गराउने निर्णय गरेको थियो। तर, यसवर्ष देखि नगरले घटाएर मासिक एक हजार दिने निर्णय गरेको छ। यही चैत १५ गतेदेखि देशभर माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा चलिरहेको छ। यस आर्थिक वर्षको एसईई परीक्षामा जिल्लाबाट नियमित साधारण तर्फ ३ हजार ७ सय ९० जना र नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन्। ग्रेड वृद्धितर्फ १२ जना गरी कुल चार हजार ९७ विद्यार्थी परीक्षा मा सहभागी छन्।