गुल्मीमा पहिलो पटक विद्युतीय गाडी सञ्‍चालनमा



गुल्मी –  गुल्मीमा पहिलो पटक विद्युतीय गाडी सञ्‍चालनमा आएको  छ । मैत्री यातायात प्रालिले सदरमुकाम तम्घासदेखि पाल्पाहुँदै बुटवलसम्मका लागि १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो। विद्युतीय गाडी बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। डिजेल तथा पेट्रोलबाट चल्ने गाडी मात्र हिँड्ने यो रुटमा अबदेखि विद्युतीय गाडी चल्ने भएका छन् ।

नियमित बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म धुर्कोट,सिमलटारी, तम्घास,बलेटक्सार र पाल्पाहुँदै बुटवल गुड्ने मैत्री यातयातका सञ्चालक काशी पाण्डेले जानकारी दिए । उक्त यातयातले  प्युठानको सिमाना पुर्कोटदेखि भारतको सुनौली बोर्डरसम्मको रुट प्रमिट पाएको छ ।


Advertisement

विद्युतीय गाडी १४ सिट क्षमता रहेको छ। तम्घासदेखि बुटवलको भाडा ५ सय ६५ कायम गरिएको छ । जुन भाडा अन्य सवारीको तुलनामा २० देखि २५ प्रतिशत सहुलियत रहेको पाण्डेले बताए । विद्युतीय गाडीको लागि जिल्लामै पहिलो पटक चार्जिङ्ग स्टेसन निर्माण गरिएको छ ।

यात्रुलाई गाडीमा फ्री वाइफाइको व्यवस्था छ । यात्रुले गाडीमा विभिन्न सामाजिक सञ्जाल चलाउन सक्नेछन् । त्यस्तै यात्रुको सुरक्षालाई मध्यनगर गर्दै गाडीमा सीसी टिभीको पनि व्यवस्था गरिएको छ । गाडी कहाँ पुग्यो भनेर हेर्नका लागि जीपीएस समेत जडान गरिएको मैत्री यातयात प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिए ।

‘हामीले जिल्लामा नयाँ व्यवस्थापनका साथ पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएका छौं,’गौतमले भने, ‘अब छिट्टै जिल्लाका प्रायः ठाउँबाट विद्युतीय गाडी सञ्चालन गरेर यात्रुलाई भाडामा सहुलिय र आरामदायी यात्रा दिने लक्ष्यसहित अगाडि बढिरहेका छौं।’

विद्युतीय गाडीको झण्डै एक महिना परीक्षण गरेर सञ्चालनमा ल्याइएको हो । यातयात प्रालिले लिएको उद्देश्य र मर्मअनुसार गाडी सञ्चालन गरेर नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने जिल्ला समन्वय समिति अध्यक्ष दोर्ण खत्रीले बताए ।

चालक र सह-चालकलाई तालिम प्रदान गरेर सबैलाई यात्रुमैत्री व्यवहार गर्दै सहज र सरल तरिकाले यात्रा गनुपर्ने उनले बताए । वातावरण मैत्री यस सवारीले गुल्मी,पाल्पा,अर्घाखाँची र प्युठानका नागरिकलाई सहज हुने अपेक्षा लिइएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन