गुल्मीको सीताराम मन्दिरमा पहिलो पटक महायज्ञ हुदैँ



गुल्मी – गुल्मीमा आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म श्रीरामकथा,हनुमान चालीसा हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने भएको छ । सीताराम मन्दिर व्यवस्थापन समितिको आयोजना जिल्लाको गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको संगमस्थल भुवाने पार्कमा महायज्ञ हुन लागेको हो ।

सीताराम मन्दिरमा ऐतिहासिक मन्दिरको संरक्षण र राष्ट्रको कल्याण गर्दै भगवान्प्रति मनुष्यको विश्वास र उनको पुजा गर्ने उद्देश्यले पहिलो पटक सातदिने महायज्ञ गर्न लागिएको मन्दिरका सीताराम मन्दिरका निर्माणकर्ता सुब्बा बस्नेतले जानकारी दिए । नेपालकै कम उमेरकी वाचिका सुश्री उमामहेश्वरी महायज्ञमा प्रमुख वाचिकाका रुपमा आउने भएकी छन् भने उप–वाचिका राधिका लोककल्याणकारी रहेको आयोजकले जनाएको छ ।


Advertisement

सीताराम मन्दिर व्यवस्थापन समितिले महायज्ञको तयारीलाई तीव्र पारेको छ । उमेर पुगेर चौरासी पूजा गर्न नसकेका र लक्ष्यवत्ति बाल्न नसकेका विपन्न परिवारलाई महायज्ञमा निःशुल्क पूजाको व्यवस्था गरिएको निर्माणकर्ता वस्नेतले बताए । महायज्ञमा शोभाकलश यात्रा, रामकथा पाठपारायण, राम आरती, कलात्मक भजन, विद्वान तथा सन्तमहात्माबाट दिव्य कथा प्रवचन,राम कथा प्रवचन हुनेछन् । साथै महनयज्ञमा प्रत्येक दिन साँझ राम आरती र स्थानीयस्तरको भजनकृतन, हनुमान हवनात्मक अनुष्ठान र रामकथामा आधारित दिव्य झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

गुल्मीको गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको संगमस्थल भुवाने पार्कमा सुब्बा बस्नेतले व्यक्तिगत करोडौं लगानीमा निर्माण गरिएको श्री सीताराम मन्दिर । उक्त मन्दिरमा आगामी वैशाख ५ गतेदेखि ११ सम्म जिल्लामै पहिलो पटक ऐतिहासिक श्रीरामकथा, हनुमान चालीसा हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुँदै छ । तस्बिर : मनोज कार्की / गुल्मी खबर

आकर्षक मन्दिर बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय मन्दिर जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगासंगै सीताराम मन्दिरको दर्शन तथा अवलोकन गर्नेको संख्या दैनिक बढ्दो छ । त्रेतायुगमा रेसुंगामा भगवान श्रीराम जाने बेलाका पाइला छोडेका किम्बदन्ति पाइन्छ । सडक निर्माणको क्रममा पाइलाहरु फुटालिएपछि त्यस ठाउँको संरक्षण गर्न एक करोड खर्च गरेर सुब्बा बस्नेतले सीताराम मन्दिर निर्माण गरेका थिए । सुब्वा बस्नेत गुल्मी दरबार गाउँपालिका ३ का स्थानीय हुन् ।

इन्जिनीयर समेत रहेका बस्नेतले मन्दिरको डिजाइन आफैले बनाएका हुन् । २०७६ सालमा निर्माण सुरु गरिएको मन्दिरको गतबर्ष उद्धघाटन गरिएको स्थानीय तथा समाजसेवी प्रकाश टण्डनले बताए । ‘व्यक्तिगत रुपमा करोड माथिको लगानीमा निर्माण गरिएको सीताराम मन्दिर नेपालकै पहिलो हो’,‘उनले भने’‘ अहिले मन्दिरमा हुन लागेको महायज्ञ जिल्लामै पहिलो र ऐतिहासिक रहेको छ ।’ महायज्ञमा कथा वाचिका सबै श्रुसी र हवानका लागि पाँचजना वटुक रहेको उनले बताए ।

मन्दिरमा आवतजावत गर्ने भक्तजनलाई सहज यात्राको लागि बस्नेतले आफ्नै लगानीमा सडक समेत ढलान गरिदिएका छन् । महायज्ञमा सह–आयोजकको रुपमा लोककल्याण सेवा प्रतिष्ठान एवं रामजानकी बालिका आश्रम देवघाटधाम,चितवन रहेको छ । महायज्ञमा प्रदान गरिएको सहयोगको ५ प्रतिशत रकम गरिब र बिपन्नलाई सहयोग गरिने बस्नेतलले बताएका छन् ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन