गुल्मीका विभिन्न ठाउँमा आगलागी : करोडौंको क्षति



गुल्मी – शनिबार दिउँसो गुल्मीका विभिन्न स्थानमा आगलागी भएको छ। जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागी भइरहेको छ।

आगलागी भएका स्थानमध्ये सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकाका विभिन्न स्थानमा पुर्‍याएको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न ठाउँमा हावाहुरीसहित लागेको आगोले करोडौंको क्षति पुर्याएको हो।


Advertisement

इस्मा गाउँपालिका-२ हस्तिचौरस्थित सिदुङखा रानी सामुदायिक वनमा हावाहुरी सहित आगलागी हुँदा  १३ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए। वडाध्यक्ष आचार्यका अनुसार दुई स्थानमा २५ वटा गोठ पनि जलेका छन् भने झण्डै ४० वटाले भैँसी र बाख्राले जलेर ज्यान गुमाएका छन्।

अहिले आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीले आगो निभाउने काम गरिरहेका छन्। आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

हिजो र आज भएको आगलागीमा मानवीय क्षति भएको छैन। दुई जना घाइते भएका छन्। घाइते हुनेमा इस्मा गाउँपालिका-१ उजुङका १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ वर्षीय प्रेम राना घाइते भएका छन्।

घाइते भएका इस्माका राना ट्याक्टर चालक हुन भने मुसिकोटका राना जेसिवी चालक हुन्। उनीहरुको अनुहार र हातखुट्टा केही भाग जलेका छन्। उनीहरुलाई थप उपचारको लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी)शंकर पोखरेलले जानकारी दिए।

त्यस्तै इस्मा गाउँपालिका ४ हुलमा आगलागी हुँदा केही घर क्षति र गाईवस्तु जलेर नष्ट भएका छन्। पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन्। खेतबारीमा बर्खेबाली लगाउनु अघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागीका घटना बढिरहेको प्रहरीको भनाइ छ।

आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ। एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका ३ र ४ को बीचमा पर्ने जंगलमा आगलागी हुँदा बिरबास सवस्टेशन रहेको स्टोर जलेर दुई करोड बढी मूल्य बराबरको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ।

शुक्रबारदेखि जिल्लाका विभिन्न स्थानमा हावाहुरीसहित घटनाहरू बढिरहेकाले आगोलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकाय मात्रै पर्याप्त नहुने हुँदा आम नागरिकलाई जुट्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आव्हान गरेका छन्। 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन