गुल्मीका आगलागी पीडित भन्छन् ‘धन्न बाँचियो’
गुल्मी – बैशाख ६ गते बेलुका गुल्मीको इस्मा गाउँपालिका २ स्थित हाडीखोला रानीवन पैंयापाटा सामुदायिक वनमा आगलागी भयो । वनको नजिकै जनता प्राथमिक विद्यालय भएकाले स्थानीयको सक्रियतामा राती नै आगो नियन्त्रणमा आयो । पानी नपरेका कारण यतिबेला गाउँमा प्रचण्ड गर्मी छ । गाउँका केही बारीमा मकै रोप्न नै बाकीँ छ । गर्मीले खेतबारी र जंगलमा भएको घाँस दाउरा सुक्न थालेका छन् । बैशाख ८ गते शनिबार जिल्लाको इस्मा गाउँपालिका २ सिदुङखाका ४८ बर्षीय रमेश कुमार थापा विहानदेखि गाउँमा इन्टरनेटको तार तान्न व्यस्त थिए । करिब १० बजे जनता प्राथमिक विद्यालय तलबाट एक्कासी हावाहुरी सहित आगाको मुस्लो निस्कियो । त्यतिबेला सम्म आगोले वनको केही भाग सखाप पारिसकेको थियो । ‘आगो चारैतिरबाट जंगलमा लागेको देखिपछि म र गाउँले बाच्ने आश नै मारिसकेका थियौं, आगो कहाँसम्म पुग्छ ? यसले के–के क्षति गर्छ ?भन्ने टुङ्गो नै थिएन ,’ ‘स्थानीय थापाले भने’
‘दाजुभाई मिलेर ५ बर्ष पहिले झण्डै ६ लाखको लगानीका बाख्रा खोर सहित बङ्गालो बनाएका थियौं, उक्त गोठमा बच्चा र वृद्ध बुबालाई दुधको लागि भैंसीसंगै बाख्रा पालेका थियौं, ‘उनले भन’े ‘शनिबार हावाहुरी सहित आएको आगोले छिनमै भैसींबाख्रा र गोठ नै सखाप पारिदियो, हाम्रो पनि बाँच्ने आश मरिसकेको थियो धन्न भगवान्को कृपा र सबैको सहयोगले बाँचियो।’ शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक,सरकारी र व्यक्तिगत वनमा भीषण आगलागी भएको थियो । एकैदिन इस्मा गाउँपालिकाका २६ वटा घर , मदने गाउँपालिकाका ८ घर , मुसिकोट नगरपालिकाका ५ र गुल्मीदरबार गाउँपालिकाका १ घर गरी कुल ४० घर पूर्ण क्षति भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालले बताए ।
जंगलबाट सुरु भएको आगो अनियन्त्रित भई केही गाउँबस्तीमा पुग्यो । जसले कयौं बस्ती उजाड त बनायो नै । हावा हुरीसंगै दन्किएको आगोले केही नागरिकका घर,गोठ सखाप बनायो । जिल्लाभर आगोमा परेर सयौं पशु चौपायको ज्यान गुमाए । उक्त दिन धेरै ठाउँमा हावाहुरी सहित लागेको आगो नियन्त्रणमा ल्याउन तीनै तहका सुरक्षाकर्मी,स्थानीय र कर्मचारीलाई हम्मे हम्मे परेको स्थानीय बताउँछन् ।
त्यस्तै सोही वडाका चन्द्रबहादुर कुँवरले पाँच बर्ष पहिले १६ लाख लगानीमा ४ कोठे पक्की घर बनाएका थिए । केही आफ्नो कमाई र ऋण खाजेर घर बनाएको उनी बताउँछन् । कुँवर भन्छन् ‘विदेशको पसिना र साहुको केही ऋणको भारी बाकेर गाउँमै बस्ने योजना बनाएर पक्की घर त बनाइयो तर बर्षौदेखि मेरो परिवारले देखेको सबै सपना मिनेटमै आगोले खाइदियो।’ ‘कान्छो छोराले बिहे गरेको केही महिना वित्यो, विवाह र घरको ऋण तिर्न एउटा छोरा दुवई गएको छ भने अर्को छोरा गाउँमै छ ‘उनले भने’ ‘परिवारका सबैले कमाएर साहुको ऋण तिरौंला र परिवार संगैबसेर खुसी रमाउँला भन्ने थियो तर सबै चाहाना हावाहुरीले उडाइदियो भएका घरगोठ आगोले खाइदियो ।’ अग्नी पिडितहरुले राहत स्वरुप केही पैसा,खाद्यान्न र लत्ताकपडा पाएका तर बस्नलाई बासको समस्या परिरहेको अग्नी पिडित कुवँरले बताए ।
उनको घरगोठ सहित किरना पसल र ट्याक्टर जलेको छ । यसको नियन्त्रणमा सबै लागेपनि आगोको सामु कसैको केही लागेन । आगोले नागरिकको खुसी मात्रै लुटेको छैन घरगोठ जलेका नागरिकलाई आकाशमुनी बस्न बाध्य बनाएको छ । आगलागी भएका १२ स्थानीय तहका स्थानमध्ये सबैभन्दा बढि क्षति इस्मा गाउँपालिकामा पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा हावाहुरी सहितको आगोले करोडौंको निजी तथा सरकारी सम्पतिमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जनाएको छ ।
अग्नी पिडितलाई जुट्दै सहयोग
यतिबेला सरकारी तथा गैरसरकारी निकायहरु अग्नी पिडितलाई राहत वितरणको कार्यलाई तीव्र पारेका छन् । इस्मा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले सहयोगको सुरुवात आफुहरुबाटै गरेका छन् । गाउँपालिकाले आगलागीबाट केही बस्तीमा ठुलो क्षति भएपछि वैशाख ९ गते गाउँकार्यपालिकाको बैठक बसेर जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको ५ प्रतिशत रकम पिडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधीबाट पाँच लाख ६ हजार र कर्मचारीको एक लाख ५७ हजार गरेर ६ लाख ८३ हजार हुने इस्मा गाउँपालिकाका लेखा अधिकृत अशोक कुमार खड्काले जानकारी दिए ।
अग्नी पिडितका लागि जिल्ला बिपद् व्यावस्थापन समिति मार्फत पूर्ण क्षति भएका प्रत्येक घरपरिवारलाई तत्काल राहत स्वरुप प्रति घर २० हजार रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।पिडितको घाउमा मलम लगाउन राहत बाकेर विभिन्न संघसंस्था आगलागी भएका बस्तीमा पुगिरहेका छन् । गुल्मी उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटी,काठमाडौं हस्तिचौर सम्पर्क समिति, गुल्मी कपडा तथा फेन्सी व्यावसाय समिति गुल्मी,बुटवल हस्तिचौर सम्पर्क समिति,जन सांस्कृतिक युवा क्लव लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाबाट राहत आईरहेको इस्मा गाउँपालिका २ का वडाध्यक्ष लोकनाथ आर्चायले बताए । वडाध्यक्ष आर्चायका अनुसार इस्मा गाउँपालिका २ सिदुङखा र हाडीखोलामा र सोही गाउँपालिकाका ४ स्थित मुर्किना,कोटकोटेरी र हुलका घरगोठमा बढि क्षति पुगेको छ ।
त्यस्तै नेपाल निजामती कर्मचारी संगठन गुल्मीले अग्नि पीडितहरुका लागि सामग्री र औषधि सहयोग गरेको छ । आगलागीले गाउँबस्तीमा पुगेका खानेपानीका पाइप जलेका छन् । त्यसैले अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । इस्मा गाउँपालिकाले डढेलोबाट पीडित परिवारको राहतका लागि सर्वपक्षिय सहयोगको अपिल समेत गरेको छ । रेडक्रस सोसाइटीबाट टेण्ट र कम्बल लगायतका सामग्रीको व्यावस्थापन भएको छ । गाउँ कार्यपालिकाको कार्यालयमा उपलव्ध गराउन सबैमा अपिल गरिएको छ ।
आगो निभाउने क्रममा एकको मृत्यु, दुई घाईते
गुल्मीका विभिन्न स्थानमा भएको आगलागीमा आगो निभाउने क्रममा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । केही दिन अगाडि आगो निभाउने क्रममा मुसिकोट नगरपालिका –१ तल्लोपौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा आगलागी भएको थियो। उक्त सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । आगोमा परेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै घाइते हुनेमा इस्मा गाउँपालिका १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ का २१ बर्षीय प्रेम राना घाईते भएका छन् । उनीहरुको अनुहार र हातखुट्टा केहीभाग जलेका छन् । उनीहरुलाई थप उपचारको लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
आफ्नै घरमा आगो लगाउने पक्राउ
आफ्नै घरमा आगो लगाएको आरोपमा धुर्कोट गाउँपालिका–६ रजस्थलका रेखबहादुर परियारलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको पक्राउ गरिएको प्रहरीले जनाएको छ । परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ ।
सव-स्टेशन आगलागी हुँदा करोडौंको क्षति
शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका ३ र ४ को बीचमा पर्ने जंगलमा आगोलागी हुँदा बिरबास सवस्टेशन रहेको स्टोर जलेर दुई करोड बढी मुल्य बराबरको ईलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ । शुक्रबारदेखि जिल्लाका विभिन्न स्थानमा हावाहुरी सहित घटनाहरु बढिरहेकाले आगोलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकाय मात्रै प्रयाप्त नहुने हुँदा आम नागरिकलाई जुट्न प्रशासनले आव्हान गरेको छ । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनु अघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागीका घटना बढिरहेको प्रहरीको भनाई छ । आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।