गुल्मीमा माहुरीपालन प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिम
गुल्मी – मौरी पालन व्यावसायमा देखिएका समस्या र समाधानका उपायको जानकारी दिने हेतुका साथ गुल्मीमा माहुरीपालन प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ बस्तुमा वस्तु सामुदायिक विकास केन्द्रको आयोजना र कृषि ज्ञान केन्द्रको सहयोगमा एक दिने तालिम संचालन गरिएको हो ।
गुल्मी जिल्लालाई मौरी र महमा आत्मनिर्भर बनाउने उदेश्य सहित आफूहरु अगाडी बढिरहेको सफल युवा माहुरी व्यावसायी तथा कृषक चुमा घर्तिमगरले बताए । जिल्लामा रहेका वन जंगलमा मौरीलाई मह उत्पादनको लागि आवश्यक पर्ने प्राकृतिक फूल तथा आहार प्रसस्त रहेको बताए । पहिचानको अभावमा खेर गईरहेका प्राकृतिक वनस्पतिको संरक्षण र सदुपयोग गर्नका लागि मौरी व्यावसाय उत्तम रहेको उनको भनाई छ । सबैभन्दा सजिलो पेशा मौरी पानल व्यावसाय रहेको बताउँदै उनले बजारमा मह र मौरीको माग बढ्दो रहेकाले यसको व्यावसायीक पालन गरी स्वदेशमै मनग्य आम्दानी गर्न सकिने घर्तिले बताए ।
समाजमा केही गर्छु भन्ने हुटहुटी भएपनि हल्लाले उनीहरुको मनोबल नै गिरेको धुर्कोट गाउँपालिका ५ का वडाअध्यक्ष केशव भण्डारीले बताए । मौरीलाई मह उत्पादनको लागि आवश्यक पर्ने
चिउरी,तोरी तथा विभिन्न प्रजातीका फूलहरु जंगल तथा बारीमा रोपेर यसको व्यावसायीक पालनमा लाग्ने कृषकलाई वडा कार्यालयले आवश्यक सहयोग गर्ने वडाध्यक्ष भण्डारीले प्रतिवद्ध गरे । आगामी गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषकका आवश्यकता अनुसारका कार्यक्रमलाई जोड्दै कृषिमा केही नयाँपन दिने उनले बताए ।
उद्यमशिलता र व्यावसायिक विकासको लागि मागका आधारमा कृषकलाई ज्ञान सिप र आवश्यक तालिम प्रदान गर्दै आएको कृषिज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताए । उनले पछिल्लो समय जनस्तरमा कृषि कार्य घट्दो र कार्यक्रमहरुको मागमा कम हुदैँ गएको बताए । ज्ञान केन्द्र मार्फत
विभिन्न स्थानमा संचालन गरिएका तालिम तथा कार्यक्रमले नागरिकको जीवनस्तरमा सुधार र व्यासायीक बनाएको
उनले खुसि व्यक्त गरे ।
माहुरीपालन कृषकको लागि प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिम निकै प्रभावकारी रहेको समाजसेवी महेन्द्र भण्डारीले बताए । कृषि तथा पशुपालनको कर्मबाट भविष्य खोजिरहेका कृषकलाई सबै ज्ञान,सिप र तालिमको अभाव देखिरहने बताउँदै भण्डारीले सबै कृषक एक्यवद्धता भएर व्यावसायीक मौरी पालन गर्न सकेमा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने बताए । धुर्कोट ५ बस्तुका केही घरमा रहरै रहरमा मौरी पालन गरेको भएपनि यसबारेमा आफूहरुलाई केही ज्ञान नरहेको सहभागीले बताएका छन् ।
व्यावसायिक र सफल बन्नको लागि तालिम,सिप र ज्ञान आवश्यक रहेको बताउँदै सहभागीले आगामी दिनमा थप यस्ता कार्यक्रममा जोड दिन माग गरेका छन् । माहुरीपालक कृषकको लागि क्षमता अभिवृद्धि तालिम प्रभावकारी रहेको उनीहरुले बताए । तालिममा ३५ जना सहभागिता रहेको थियो ।