तम्घास-सिमलटारी खण्डका पुल बर्खा अगावै नसकिने
गुल्मी – भण्डारी राजमार्ग अन्तर्गत गुल्मी जिल्लाको तम्घास–सिमलटारी खण्डमा ४ वटा पक्की पुल बर्खा अगावै नसकिने निश्चित भएको छ । राजमार्गको तम्घास, सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने सडक खण्डका ४ ठाउँमा अहिले पुल निर्माण भइरहेको छ ।५ वर्ष अगाडि नै सडक कालोपत्रे भए पनि राजमार्गको तम्घास सिमलटारी खण्डका हुलाके, धनार्जी, फूलबारी र घमिर खोलामा पुल नहुँदा वर्षाको समयमा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ ।
४ वटा पुलमध्ये फूलबारी र घमिर खोलामा पुल निर्माणको काम पन्त निर्माण सेवाले गरिरहेको छ । हुलाके र धनार्जी खोलामा सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले पुल निर्माण कार्य गर्दै आएको छ । घमिर खोलको पुल निर्माण लागत ३ करोड १३ लाख ८४ हजार छ । फूलबारी खोलाको पुल निर्माण लागत ३ करोड ३२ लाख ६८ हजार रुपैयाँ छ । यी दुई स्थानका पुल २०८० भदौ महिनाभित्र बनाइसक्नु पर्ने थियो । थपिएको म्याद २०८० चैत ८ गतेसम्म थियो ।
तर जेठ महिनाको दोस्रो सातासम्म पनि यी पुलको प्रगति ७० प्रतिशतमात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । फूलबारी खोलाको पुल २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यी दुईवटा पुलको ढलान सकेर एप्रोच वाल लगायतका काम बाँकी छ ।धनार्जी रोधी खोलामा पुल निर्माणका लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणका लागि ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ लागत छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यो पुल २०८० माघभित्र सकिसक्नुपर्ने थियो ।
अहिले २०८१ साल कात्तिकसम्म म्याद थपिएको छ । हालसम्म यो पुलको ७० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।यी दुइवटा पुलको ढलानको काम सकेर एप्रोच वाल र पहुँच सडक विस्तार गर्न बाँकी छ । २ वटा पुलमा पहुँच सडक विस्तार गर्न जग्गा विवाद भएकाले काम गर्न बाँकी रहेको मदन भण्डारी आयोजना कार्यालयका इन्जिनियर दिपक विकले बताए ।
गुल्मीको पश्चिम क्षेत्रको अति व्यस्त मानिने यो सडकखण्डमा पुल नहुँदा वर्षातको समयमा सबैभन्दा बढी मार विरामी र शारीरिक अशक्तले खेप्दै आएका छन् ।कोरोना महामारीको समयमा वर्षातको बेला ४ दिनसम्म खोला तर्न नसकेर एक जना बिरामीको बाटोमै मृत्यु भएको थियो । पुल नहँदा बर्सेनि सवारी चालकहरुले जोखिम मोल्दै आएका छन् ।
यहाँका नागरिक यस वर्षको वर्षासम्म पुल सञ्चालनमा आउने आशामा थिए । तर जेठको दोस्रो साता बितिसक्दा पुलका ढलान बल्ल सकिएको छ । फूलबारी र घमिर खोलामा निर्माणाधीन पुलको ढलान केही समयअघि नै सकिएको थियो भने हुलाके र धनार्जी खोलाको पुलको जेठको दोस्रो सातामात्रै सकिएको हो ।
निर्माण व्यवसायीले पटकपटक म्याद थप गरेर पुल निर्माणको काम गरिरहेका छन् । पुल निर्माणको पछिल्लो अवस्थाबारे भ्रष्टाचारविरुद्धको नागरिक निगरानी गुल्मीसहित सरकारी निकायमा प्रतिनिधिले अनुगमन गरेका थिए ।अनुगमनपछि भ्रष्टाचारविरुद्धको नागरिक निगरानी गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले काम गुणस्तरीय भए पनि समयमै नसकिँदा नागरिकमा गुनासा बढेको बताए ।
थपिएको समयमा पनि काम नसकिने देखिएपछि आयोजना कार्यालय र निर्माण व्यवसायीलाई दबाब पर्न थालेको छ । यद्यपि, असारभित्रै पुल निर्माणको काम सकेर गाडी चलाउने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विकको जिकिर छ ।मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास, सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम ५ वर्ष पहिले एक अर्ब रुपैयाँ लागतमा बनेको थियो ।