चन्द्रकोटमा एकैदिन एक सय ४० जनाले गरे रक्तदान 



गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिकाले १७ औं गणतन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रक्त संचार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोग र गाउँपालिकाको कार्यालय शान्तिपुरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा एक सय ४० जना नागरिकले रक्तदान गरेका छन् ।


Advertisement

एकैदिन एक सय ४० युनिट रगत संकलन भएको गाउँपालिकाले जनाएको छ । नागरिकको उत्साह र यति ठूलो संख्यामा रक्तदान गर्ने गुल्मीका १२ स्थानीय तह मध्येको पहिलो चन्द्रकोट गाउँपालिका रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताए । आफुले हालसम्म ८२ पटक रक्तदान गरेको बताउँदै  चौहानले अहिले रक्तदान गर्नेको संख्या दैनिक बढ्दै गएको बताए । स्वस्थ्य मानिसले १ सय २० दिनमा रक्तदान गर्न सकिने उनले बताए ।लुम्बिनी प्रदेशका नागरिकलाई आवश्यक परेको समयमा नि:शुल्क रगत उपलब्ध गराउने उदेश्यले केही समय अगाडी रक्तदानको लागि चन्द्रकोट गाउँपालिका र नेपाल स्वयंसेवी  रक्तदाता समाज रुपन्देही बीच सम्झौता भएको थियो ।

जनप्रतिनिधि, कर्मचारी लगायत स्थानीयले रक्तदान जीवन दान भएको बताउँदै उनीहरुले रक्तदान गर्न पाँउदा खुसी ब्यक्त गरे ।

पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकोले नागरिकलाई आवश्यक पर्ने रगत नि: शुल्क उपलब्ध गराउन रक्तदान फलदायी हुने रक्त संचार सेवा केन्द्र रुपन्देहीका प्रमुख राधा ज्ञवालीले बताइन् । उनले जनसंख्या बृद्धि संगै विभिन्न रोगहरु बढ्दै जाँदा रगत आवश्यकता बढ्दै गएको बताइन्।

गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले पालिका भित्रका नागरिकलाई स्वस्थ्य कसरी बनाउने र रगत आवश्यक परेको खण्डमा निःशुल्क रुपमा उपलब्ध गराउन आफुहरुले लागी परेको बताए । उनले गाउँपालिकाले नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्न विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताए ।

गाउँपालिकाका अध्यक्ष युवराज केसीले रक्त संचार सेवा केन्द्र रुपन्देहीसंगको सम्झौता अनुसार हालसम्म ८ जना बिरामीले सेवा लिइसकेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । जीवनमा एक पटक पनि रक्तदान नगरेकालाई प्रोत्साहन र आवश्यक परेका बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीले बताए ।

चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल शिक्षक महासंघ चन्द्रकोट गाउँपालिका, उद्योग बाणिज्य संघ शान्तिपुर, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीले सहकार्य गरेका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.