गुल्मीको रेसुंगा र मदाने वन दुर्लभ चराको बासस्थान



गुल्मी – नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिए।

उनका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये ६ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरुको बासस्थान बनेको उनले बताए।


Advertisement

यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ । पक्षी संरक्षण सङ्घले पछिल्लो पटक गरेकोे चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ।

समग्र यहाँका वनमा तीन सय पाँच प्रजातिका चरा भेटिएका र यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ।

समुन्द्र सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यावरणीय र जैविक विविधताले पनि भरिपूर्ण मानिन्छ । यहाँ पाइने सयौँ प्रकारका वनस्पतिले अतिसङ्कटापूर्ण अवस्थामा रहेका चराको बासस्थानलाई जोगाउन मद्दत पुर्याएको छ।

सङ्घले गुल्मीको रेसुङ्गा र गुल्मी दरबारमा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरूको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनमा टेवा पुर्याउने गतिविधि सञ्चालन गरिरहेको छ।

यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त बासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रुपमा रहेको जानकारहरू बताउँछन् । त्यसका अतिरिक्त वन डढेलोका कारण दुर्लभ चराहरु संरक्षणमा थप चुनौती थपिएको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेको भनाइ छ।

“जिल्लामा चरा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ । यिनको विकास र संरक्षणले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैले यहाँको वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ”, पाण्डेले भने।

पछिल्लो समयमा वन डढेलो, विद्युतीय प्रसारण लाइन, खानेपानीको अभाव र वन्यजन्तु एवं चराचुरुङ्गीहरुको अवैध चोरीसिकार आदिका कारण चरा पनि संकटापन्न अवस्थामा रहेका छन्।नेपाल पक्षी संरक्षण संघले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा गणना र संरक्षणका क्षेत्रमा काम गरिरहेको छ। (रासस)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.