मालिकाको नीति तथा कार्यक्रम :´एक वडा, दुई उत्पादन`
गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले कृषि,रोजगारी , शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहिवार मालिका गाउँपालिकाको सोह्रौं गाउँसभामा गाउँपालिका अध्यक्ष देविराम अर्यालले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कृषितर्फ “एक वडा,दुई उत्पादन”को नीति ल्याएको गाउँपालिका अध्यक्ष अर्यालले बताए । गाउँपालिकाले पालिकाभित्रका ८ वटा वडाका कृषकलाई कृषिमा व्यावसायिक बनाउने लक्ष्यका साथ प्रत्येक वडामा फरकफरक कृषि उपज उत्पादनको ल्याएको छ ।
एक वडा दुई उत्पादन कार्यक्रम अन्तर्गत वडा नम्बर १ नेटामा बंगुर र मौरी पालन, २ दर्लिङ्गमा बाख्रा पालन र आलु उत्पादन , ३ ह्वाङ्ग्दीमा बाख्रा र उखु , ४ अर्खाबाङ्गमा आलु र मकै उत्पादनमा जोड दिइएको छ । त्यस्तै वडा नम्बर ५ छापहिलेमा बाख्रा र हलुवावेद उत्पादन , ६ अर्जैमा मौरी र धान उत्पादन , ७ घमिरमा केरा र कफी उत्पादन र ८ मर्भुङ्गमा बेसार र कफी उत्पादन लाई व्यवसायिक रुपमा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले बढ्दो बसाइँसराइका कारण बाझिएका जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ । गाउँपालिकालाई अर्गानिक पालिकाको रुपमा स्थापित गर्नको लागि सबै ८ वटामा भर्मिक कम्पोस्ट र झोलमोल बनाउने योजना बनाएको छ । तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यका अनुरुप “एक घर, एक करेशाबारी”कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष अर्यालले बताए ।
पुष्पजन्य व्यवसायलाई प्रवर्द्धन गर्दै गाउँपालिका भित्र संचालन हुने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरुमा फूलहरुको प्रयोग र व्यवसायिक उत्पादन बढाउन “एक घर,एक बगैचा”कार्यक्रमसंचालन गरिने भएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रममा निरन्तरता दिदै कृषकलाई आवश्यक मागमा आधारित तालिम संचालन गरिने अध्यक्ष अर्यालले बताए ।
पशु तथा बाली स्वास्थ्यलाई मध्यनजर गरेर प्रत्येक वडामा पशु स्वास्थ्य शिविर तथा बालि संरक्षण कार्यक्रम संचालन गर्ने र जंगली बन्यजन्तुले पुर्याएको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायसँग समन्वयमा बाली संरक्षणको लागि आवश्यक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
कृषि र पशुपंक्षि क्षेत्रमा उत्पादन वा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने कृषकलाई सम्मान तथा गाई गोरुपालन गर्ने कृषकलाई प्रोत्साहन गरिने पालिकाले नीति ल्याएको छ ।