स्वास्थ्य,शिक्षा,कृषि र पर्यटन रेसुङ्गाको प्राथमिकतामा
गुल्मी – गुल्मीको रेसुंगा नगरपालिकाले स्वास्थ्य,शिक्षा,कृषि र पर्यटन प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । शनिबार १५ औं नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रेसुंगा क्षेत्रमा पर्यटनको विकास गर्न स्काई साइकिलिङ्ग,जीपलाइन र घोडचडी जस्ता साहसिक खेलहरु संचालन गर्ने नीति अगाडी सारिएको बताए ।
उनले रेसुंगा संगै समग्रह गुल्मीको पर्यटन विकासका लुम्बिनी–
तिलौराकोट–सुपादेउराली–रेसुङ्गा–वामी–बाग्लुङ्ग–मुक्तिनाथ–लोमान्थाङ्गलाई धार्मिक तथा पर्यटकीय मार्गको रूपमा विकास गरिने बताए । त्यस्तै देवघाट–रामपुर–राम्दी–रानीमहल–रुरु–रेसुङ्गा–बाग्लुङ्ग म्याग्दी गलेश्वर–तातोपानी–मुक्तिनाथ धार्मिक मार्गको रुपमा विकास गरी “जाउँ हिंड रेसुंगा”अभियानलाई निरन्तरता दिने नगरप्रमुख पन्थीले जानकारी दिए ।
नीति तथा कार्यक्रममार्फत रेसुंगाले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ । नगरपालिकाले स्वास्थ्य तर्फ जेष्ठ नागरिकका समस्या पहिचान र समाधान गर्न “जेष्ठ नागरिकसंग नगरपालिका”गर्भवती महिला लक्षित “आमासंग उपमेयर” “गुल्मी अस्पताल,मेरो अस्पताल” आमा र नवजात शिशुको स्वास्थ्य परिक्षण गर्न “स्वस्थ आमा स्वस्थ शिशु” लगायतका नीति अगाडी सारेको छ । यस्तै रेसुंगाले आधारभूत स्वास्थ्य सेवाको उपभोग तथा पहुँच वृद्धि गर्न समुदायमा पुगेर “स्वास्थ्य आमा समूह पुनर्जागरण कार्यक्रम” र नगरभित्र दम,निमोनिया र स्वास प्रस्वासका बिरामीलाई घरमै पुगेर सेवा प्रवाह गर्ने हेतुले “घरघरमा स्वास्थ्य सेवा” अभियान नै संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषितर्फ नगरपालिकाले नगरका किसानहरूको डिजिटल विवरण तयार गरी किसान परिचयपत्र उपलब्ध गराउने नीति उनले व्यवसायिक कृषि तथा पशुपालन गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गर्दै “किसानसँगनगरपालिका” कार्यक्रम सञ्चालन गरिने बताए । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले संभावित
जोखिम क्षेत्र पहिचान गरी नगरभित्र किशोर–किशोरी, सुनौलो हजार दिनका आमाहरू र बालबालिकालाई विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख पन्थीले जानकारी दिए । नगरपालिकाका वडाहरुलाई क्रमशः किशोर किशोरीमैत्री वडा घोषणा गर्ने कार्यलाई निरन्तरता दिंदै रेसुङ्गा नगरपालिका ९ स्थित हाटबजारमा योगा हल र रेसुङ्गा क्षेत्रमा मेडिटेसन हल स्थापना गर्न नीति रेसुंगाले लिएको छ । नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद तर्फ “सीप सहितको गुणस्तीय शिक्षा रेसुङ्गा नगरपालिकाको अपेक्षा”भन्ने मुल नारा नै अगाडी सारेको छ । स्नातकोत्तर सम्मको अध्ययन जिल्लाकै एक रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चलानार्थ आवश्यक आर्थिक सहयोग उपलब्ध गराई अध्ययनको लागि विद्यार्थीको आर्कषण बढाउन जिल्लाका अन्य स्थानीय तहहरु सहकार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
गुल्मी जिल्ला र देशको जुनसुकै स्थानवाट एस.इ.इ. परीक्षामा उच्च अंक प्राप्त गर्ने र रेसुंगा भित्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्तिको प्रवन्ध मिलाई पढ्न उत्प्रेरित नीति ल्याईएको छ । रेसुङ्गा नगरपालिकाले विपद् व्यवस्थापनका लागि तालिम प्राप्त स्वयंसेवक वडामा खटाउने नीति ल्याएको छ ।
नगरपालिकाले वैकल्पिक शिक्षाको व्यवस्था, हरितगृह सहरको अवधारणा, तम्घास बजारलाई स्वच्छ तथा सफा राख्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । साथै नगरले निःशुल्क आँखा अप्रेसन, गुल्मी अस्पताललाई सेवामैत्री र नागरिक मैत्री बनाउन आफूहरूले पहल गरिरहने नीति तथा कार्यक्रममै
उल्लेख गरिएको छ ।
शिक्षण सिकाइलाई प्रभावकारी बनाई सिकाइ उपलब्धि र क्षमता वृद्धि गर्न मागमा आधारित तालिम र अवलोकन भ्रमणका कार्यक्रम आयोजना गरेर शिक्षा क्षेत्रमा गुणात्मक फड्को मार्ने उद्देश्यले राष्ट्रिय रूपमा ख्यातिप्राप्त विद्वानहरूको सहयोगमा शैक्षिक सम्मेलनको आयोजना गरिने नगरप्रमुख पन्थीले बताए । युवाहरूमा देखिएको निराशा, डिप्रेसन र लागु औषध सेवन जस्ता घातक समस्याहरूको न्यूनीकरणका लागि तालिम र परामर्श सहितका विशेष कार्यक्रम सञ्चालन तथा प्रधानाध्यापकहरूको भत्तामा प्रोत्साहन स्वरुप नगरपालिकाबाट शतप्रतिशत भत्ता रकम थप गर्ने बताइएको छ ।
रेसुङ्गा नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम “हाम्रो रेसुङ्गा“ मा स्थानीय जाति, भाषा, संस्कृति र नैतिक शिक्षा समावेश गरी अद्यावधिक गरिनुका साथै पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखन र छपाइ गर्ने नीति अगाडि सारेको छ । युवाहरूको क्षमता र सीप विकास गर्नको लागि “मेयरसँग युवा“ कार्यक्रम सञ्चालन र कक्षा ८ भन्दा माथिका सबै विद्यार्थीलाई वर्षमा कम्तिमा १० कार्यदिन स्वयंसेवकको रुपमा कार्यको थालानी गरिने भएको छ । रेसुङ्गा क्षेत्रको महत्व उजागर गर्नको लागि भारतको अयोध्या र नेपालका मुख्य सहरहरु (नारायणघाट, भैरहवा, बुटवल, दाङ्ग, नेपालगंज) मा विभिन्न वृहत कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख पन्थीले बताए ।
रेसुङ्गा विमानस्थलमा भौतिक पूर्वाधार तथा उपकरणहरूको थप व्यवस्था गरी दैनिक हवाई उडान सञ्चालनमा पहल र सहरी सौन्दर्गीकरणका निम्ति रेसुङ्गा नगरपालिकाभित्र निर्माण भएका भित्ताहरुमा यस क्षेत्रको महत्व झल्किने विभिन्न आकृतिका आकर्षित चित्रकला पेन्टिङ्ग गरिने कार्यको थालनी गरिने भएको छ । नगरभित्र रहेका लोपोन्मुख भाषा, भेषभूषा, संस्कृति र परम्पराहरूको जगेर्ना र प्रवर्द्धन गर्नका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
पर्यटन व्यावसायलाई टेवा पुर्याउन सुविधा सम्पन्न होटलहरु निर्माणको लागि निजी क्षेत्रलाई प्रेरित र रेसुंगा ९ स्थित बालउद्यानदेखि रेसुङ्गा भ्यूटावरसम्म पदमार्ग निर्माण गर्न नीति अगाडी सारिएको छ ।भित्ताहरुमा र खानीगाँउदेखि रेसुङ्गासम्मको सडकको पर्खालमा चित्रकलासहितको वाल पेन्टिङ्ग गरिनेछ ।अन्तर सरकार समन्वय र सहयोग अन्तर्गत रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकाको समन्वयमा रेनपा १४ इन्द्रेगौडामा कृत्रिम ताल निर्माण गरिने नगरप्रमुख पन्थीले बताए । कृषकहरूबाट उत्पादित सामग्री खरिद–विक्रीमा सहजिकरण र त्यसका लागि कृषि हाटबजार तथा शीतभण्डार संचालनलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । “स्वस्थ जीवन करेसाबारी; जैविक खेती हरियो तरकारी“ भन्ने अभियानका साथ एकघर एक करेसाबारीको कार्यक्रमको सुभारम्भ गरिने
नीति ल्याइएको छ ।
नरपालिकाले युवालाई स्वरोगार बनाउन “मेयरसँग रोजगार कार्यक्रम” सञ्चालन गर्ने र रेसुङ्गा नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना बनाएको छ । रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक, जैविक विविधता तथा सम्पदा संरक्षण र पर्यटनको विकास गर्न शुभारम्भ भएको “जाउँ हिँड रेसुङ्गा“ अभियानलाई सार्थक तुल्याउनको निम्ति प्राकृतिक÷राष्ट्रिय संग्राहलयको अवधारणा विकास गर्दै सबैको साझा धारणा स्थापित गर्नको लागि धार्मिक एवम् बौद्धिक सम्मेलन गरी प्रचार प्रसार गर्ने र नियमितरुपमा धार्मिक गुरुको प्रवन्ध मिलाई धार्मिक महिमालाई उजागर गर्न पहल गरिनेछ । गर्भवती महिलाहरूका लागि घुम्ती अल्ट्रासाउण्ड सेवाको सुरुवात संगै महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमाको ५० प्रतिशत रकम नगरपालिकाबाट उपलब्ध गराइने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य तर्फ नगरपालिकाले गर्भवती महिलालाई सुत्केरी सेवा लिनको लागि एकोहोरो यातायात खर्च उपलब्ध गराउने नीतिलाई अगाडी सारेको छ । गुल्मी अस्पतालमा हालसालै सुचारु भएको मृगौला रोगीको लागि होमियो डायलाइसिस सेवालाई थप प्रभावकारी बनाउने नगरप्रमुख पन्थीले जनाकारी दिए ।
उनले गुल्मीअस्पताललाई ५० बेडबाट एक सय बेडको अस्पताल र आँखा उपचार केन्द्रलाई सुविधा सम्पन्न आँखा अस्पतालका रूपमा स्तरोन्नतिका लागि पहल गरिने बताए ।