इस्माको नीति तथा कार्यक्रम : ´घुमौं इस्माकोट`अभियानदेखि खरका छाना मुक्त गाउँपालिका घोषणा सम्मको योजना



गुल्मीको इस्मा गाउँपालिकाको १६ औं अधिवेशनबाट आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष भगतसिंह खड्का तस्बिर : मनोज कार्की / गुल्मी खबर

गुल्मी –  गुल्मीको इस्मा गाउँपालिकाको १६ औं अधिवेशनबाट आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले आगामी बर्षको नीति तथा कार्यक्रममा खानेपानी, पर्यटन , स्वास्थ्य, शिक्षा र खेलकुदलाई बिशेष प्राथमिकता दिएको बताए ।

गाउँपालिकाले पर्यटन तर्फ पालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलमा पर्यटक भित्राउने उदेश्यले “घुमौं इस्माकोट” अभियान सन्चालन गर्ने भएको छ । गोर्खा राज्यले एकीकरण अभियान आरम्भ गरेपछि तत्कालीन चोबिसे राज्य रहेको इस्माकोटको थप प्रचारप्रसार तथा पर्यटन पर्वद्वन गर्न आर्थिक बर्षमा इस्माकोटमा ५० हजार आन्तरिक र बाहृय पर्यटक भित्राउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।त्यस्तै उनले वि.सं.१५५० देखि १८४३ सम्म इस्मा चौविसे राज्यहुँदा प्रमुख मार्ग र सैनिकहरुको प्रशिक्षण स्थल  थामाकागढीलाई पर्यटकीय केन्द्र बनाएर पुर्वधार निर्माण गरिने नीति अगाडी सारिएको बताए ।


Advertisement

इस्मा गाउँपालिकाले स्थानीयलाई रोजगारी सिर्जना गर्ने र वातावरणलाई प्रतिकुल असर नगर्ने उद्योग स्थापनामा आउने व्यावसायीलाई  बर्ष व्यावसाय कर छुटको नीति अगाडि सारेको छ । अमरपुर बुल्ममा रहेको सेरामिक्सलाई थप व्यावस्थित गरेर परम्परागत हस्तकलाको संरक्षण गर्न इस्माकोटको प्रतिमा निर्माण गरेर पालिकाका कार्यक्रममा मायाको चिनोका रुपमा प्रयोग गरिने आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय कच्चा पदार्थबाट निर्माण हुने सामाग्री उत्पादनमा जोड र बजारीकरणमा इस्माले प्रोत्साहित गर्ने भएको छ ।

“इस्माली परिश्रम इस्मामा उद्यम” अवधारणा अनुसार पढ्दै र सीप सिक्दै कमाउदै अभियानलाई निरन्तरता दिदै उत्पादन सामाग्रीको खरिद र बजारीकरणमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष खड्काले जानकारी दिए । शिक्षक बैंकको स्थापना मार्फत रिक्त रहेका ठाउँमा शिक्षक नियुक्त तथा सवै वडामा अगुवा विद्यालय छनोट गरिने नीति अगाडि सारिएको छ । इस्माबासीको स्वास्थ्यमा सुधार गर्न “स्वास्थ्य जीवनको पुर्वाधार,खुसी इस्मालीको मुल आधार” प्राथमिकतामा राखेर पालिकामा विशेषज्ञ सहितको नि: शुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।

आगामी आर्थिक बर्षमा इस्मा गाउँपालिकालाई पुर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको छ । त्यस्तै गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षित गर्न र स्वास्थ्यकर्मीको मनोबल बढाउन “नमूना स्वास्थ्य संस्था,नमूना स्वास्थ्यकर्मी  अभियान”को अवधारणालाई अगाडि सारिएको छ ।आमा र बच्चाको पाेषण स्थितिमा सुधार गर्न “सुत्केरी पाेषण” कार्यक्रम  र गर्भवती महिलाको लागि “नि:शुल्क ग्रामीण अल्ट्रासाउन्ड” सेवालाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

इस्माले आर्थिक बर्षलाई  २०८१/०८२ लाई खानेपानी तथा सरसफाइ बर्षका रूपमा निरन्तरता दिने भएको छ । एक घर एक धारा कार्यक्रम मार्फत  ३०४२ घरदुरीमा खानेपानीका धारा निर्माणको लक्ष्य राखिएको छ । इस्मा गाउँपलिका भित्र मनाइने मेला, पर्व, परम्परागत जीवनशैली एवं सांस्कृतिक सम्पदाको परिचय दिन सांस्कृतिक प्रोफाइल  तयार गर्ने प्रकाश गरिने नीति लिएको छ ।

इस्मा गाउँपालिकालाई लैङ्गकि हिंसा मुक्त गाउँपालिका निर्माणको लागि रणनीति निर्माण गरिने गाउँपालिका अध्यक्ष खड्काले बताए । उनले नागरिकका समस्या सुन्न र समाधान गर्नको लागि जनतासङ्ग जनप्रतिनिधि कार्यक्रम समेत संचालन गरिने बताए । देश भित्रका विभिन्न पालिकाहरुसँग समन्वय सहकार्य गरी भौतिक पूर्वाधार, फोहोरमैला व्यवस्थापन, कृषि उत्पादन बजारीकरणका निम्ति अन्तर पालिका भगिनी सम्बन्ध अगाडी बढाइनेछ नीति ल्याएको छ ।

इस्मा गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा र पालिकामा दिगो तथा वातावरण मैत्री विकास गरी मानव अधिकारमैत्री विकासका लागि हरित सडकको अवधारणालाई प्रवर्द्धन गरिने नीति अगाडि सारिएको छ ।

इस्मा गाउँपालिकाको भित्री चक्रपथ छल्दी ठाढुङ्गा नयाँपोखरा, मैदान दोबाट हुलाकेलाई स्तरोन्तती गरी खण्ड खण्डमा कालोपत्रे ग्राभेल एवम् ढलान गर्ने र नयाँ सडक नखोल्ने आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.