गुल्मीमा पहिरोले घर पुर्दा पाँच जनाको मृत्यु
गुल्मी – गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । गए राति मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता बिक, ७ वर्षीया सपना विक र २ वर्षीया विपना बिक पहिरोमा पुरिएर मृत्यु भएको हो।
उनको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घरमा माथिबाट ढुङ्गा,माटो सहितको पहिरो आई घर पूर्णरुपमा पुरिएको हो। इस्मा प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको थिए। स्थानीय र प्रहरीले उनीहरुलाई पहिरोबाट निकालेका हुन्।
त्यस्तै पहिरोले मुसिकोट नगरपालिका वडा नम्बर – २ पौवाका यमबहादुर सिंहको गएरातीको अबिरल बर्षाले बगालो पुर्ण रुपमा क्षती भएको छ। उनको घर उच्च जोखिममा रहेको छ।
पानीका कारण सडक, विद्युत अबरुद्ध भएको स्थानीय महेन्द्र घिमिरेले जानकारी दिए । पानीका कारण जिल्लामा रहेका विभिन्न ठाउँका खोला बढिरहेका छन् ।
यात्रामा नागरिक समस्या देखिएको छ । पानी र पहिरोले केही गाउँबस्ती जोखिममा देखिएका छन भने अन्नबाली पुरिएको पाइएको छ ।