गुल्मीको रेसुंगामा साउने मेला सुरू



रेसुंगा पोखरीमा स्नान गर्न पुगेका श्रदालुहरू । तस्बिर : मनोज कार्की

गुल्मी – गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुंगामा एक महिने साउने मेला सुरू भएको छ । साउन १ गतेदेखि रेसुंगामा दर्शन गर्ने श्रदालुको घुइँचो लाग्ने गरेको हो । रेसुङ्गाको आफ्नै धार्मिक तथा ऐेतिहासिक महत्व भएकाले पनि यहाँ स्नान, मन्दिरमा पुजाआरधाना, भजन कीर्तन तथा नृत्य पूजा हुने गर्दछन् । रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भइ पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनाको पहिलो दिन नै रेसुंगामा बिहानैदेखि श्रदालुको भीड लागेको छ। विगतका वर्षमा जस्तै यसवर्ष पनि साउने मेला सुरु भएकाले यहाँ बिहानैदेखि श्रदालुहरूको भीडभाड लाग्ने गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

रेसुंगामा साउनभरे र एकादशीका दिन विशेष मेला लाग्ने गर्छ । एकादशी पर्वका दिन भगवान विष्णुको प्रतिका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर मनाउने प्रचलन छ। हरिबोधिनी एकादशी पर्वको अवसरमा रेसुङ्गा पोखरीमा स्नान गर्ने,तुलसीको विवाहसँगै विभिन्न भगवानको पूजाआरधाना गर्ने गरिन्छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा वर्त बसेर पोखरीमा स्नान गरी भगवान्को पूजा गरेपछि मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ । त्यसकारण रेसुंगामा गुल्मी,पाल्पा,स्याङ्जा,अर्घाखाँची लगायतका जिल्लाबाट श्रदालु भक्त आउने गरेको संरक्षण समितिका अध्यक्ष भुसालले बताए ।


Advertisement

पछिल्लो समय रेसुङ्गामा पुग्ने सडक कालोपत्रे र जिल्लाको सदरमुकाम तम्घास बजारदेखि सवारीको पहुँच भएकाले प्रत्येक वर्ष श्रदालु र पर्यटकको संख्या बढ्दो छ । विगतका तुलनामा रेसुङ्गामा हरेक समय लाग्ने मेला थप व्यावस्थित भएकाले विभिन्न स्थानबाट भक्तहरू आइरहेको श्रदालु बताउँछन् । रेसुंगा नगरपालिका गुल्मीले रेसुंगामा पर्यटन पर्वद्धन गर्न जाउँ हिंड रेसुंगा अभियान नै संचालन गरेको छ ।नगरपालिकाले सञ्चालन गरेको उक्त अभियानले यस क्षेत्रको प्रचारप्रसार तथा पर्यटक भित्राउन थप टेवा पुगेको होटल पौवा रेसुंगा शाखाका व्यावस्थापक प्रदीप घिमिरेले जानकारी दिए । उनका अनुसार, साउने मेलालाई केन्द्रित गरेर रेसुंगामा रहेका मन्दिर व्यावस्थित र पोखरीलाई थप आर्कषक बनाइएको छ ।

सदरमुकाम तम्घासदेखि नजिकै पर्ने रेसुंगामा नागरिकको धार्मिक विश्वास बढ्दै गएकाले दैनिक पर्यटकको संख्या बढिरहेको उनले बताए । प्राकृतिक सम्पदा र सौन्दर्यताले भरिपुर्ण मानिने रेसुङ्गामा चिसो हावापानी, बनस्पति , जीवजन्तू र पशुपन्छीको विविधता पाइन्छ । रेसुङ्गा अबस्थित भ्यु टावरबाट अन्नपूर्ण,धौलागिरी र माछापुच्छ्रे हिमशृंखला सहित तम्घास बजारको अवलोकन गर्न सकिन्छ । रेसुंगामा पुगेर मन्दिरमा पूजा र पोखरीमा स्नान गरेपछि हालसम्म गरेका पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.