रेसुङ्गामा वडा तहमै गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा
गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती महिलाहरूका लागि वडा तहमै अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवाको शुभारम्भ गरेको छ । बुधबार नगरपालिकाकाे दुर्गम वडा पराल्मीबाट उक्त सेवा शुभारम्भ गरिएको हो ।
याे सँगै अब रेसुङ्गा नगरपालिकाका १४ वटा वडाका १६ वटै स्वास्थ्य संस्थामा गर्भवती महिलाहरूका लागि अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । नगरपालिकाकाे स्वास्थ्य शाखाकाे आयोजना र पराल्मी स्वास्थ्य चाैकीकाे व्यवस्थापनमा भएको औपचारिक कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उक्त सेवाको शुभारम्भ गरेका हुन् । नगरप्रमुख पन्थीले स्वास्थ्यकर्मीलाई उक्त चेकजाँच गर्ने मेसिन हस्तान्तरण गरेपछि ग्रामीण भेगमै गर्भवती महिलाहरूका लागि अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरुवात भएको हो । पराल्मीमा बुधबार छ जना गर्भवती महिलाहरुले यो सेवा लिएका छन् । उक्त औपचारिक कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले ग्रामीण भेगका स्वास्थ्य संस्थामै यो सेवा आउनु सुखद भएको बताए । उनलेे दुर्गम वडा पराल्मीबाट रेसुङ्गा नगरपालिकाले गर्भवती महिलाहरूका लागि अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सुरुवात गरेकोमा नगरप्रमुख पन्थीलाई धन्यवाद दिए । उनलेे यो सेवा सुरु हुनै नसक्नु सुरु भएपछि सामान्य हुने बताए । उनलेे गर्भवती महिला र बच्चाकाे स्वास्थ्य अवस्था सम्बन्धी सम्पूर्ण जानकारी हुने भएकोले गर्भवती महिलाहरू यहीँ सेवाका लागि सदरमुकाम तम्घास जान पर्ने बाध्यताकाे अन्त्य आएको बताए । आचार्यले पारिवारिक प्रसंग जाेड्दै आफू छैटौं सन्तानका रुपमा जन्म लिएको तर आमाका लागि एक्लाे सन्तानका रुपमा रहेको बताए । पहिले भिडियो एक्सरे सेवा नहुनाले जतिबेला जस्तो परिस्थिति पनि हुन सक्थ्यो तर अब त्यस्तो समस्या अन्त्य भएको उनले बताए । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष धनबहादुर पुनले उक्त सेवा आफ्नो वडाबाट सुरुवात गरेकोमा नगरपालिका परिवारलाई धन्यवाद दिए । उनलेे दुर्गम वडा भएपनि थपिएका केही सेवासुविधाले नयाँ आयाम दिएको बताए । उनलेे पराल्मीकाे विकासमा नगरपालिका प्रमुख पन्थीले देखाएको चासो र पहलकाे प्रशंसा गर्दै आगामी दिनमा थप पहलकाे अपेक्षा व्यक्त गरे । रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले नगरका सबै वडामा यो सेवाको सुरुवात पराल्मीबाट भएको बताए । उनलेे लामो प्रयासपछि गर्भवती महिलाहरुकाे अल्ट्रासाउन्ड (भिडियो एक्सरे) मेसिन ल्याएर सेवा दिन सकेको बताएका थिए । उनलेे नगरपालिकाकै पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी सेवा र मृगौला डायालाईसिस सेवा प्रदान भइरहेको र अब आइसियु सेवा संचालन गर्न थालेको बताएका थिए । उनले गर्भवती महिलाहरु अल्ट्रासाउन्ड (भिडियो एक्सरे) का सदरमुकाम तम्घास पुग्नपर्ने बाध्यताकाे अन्त्य गरेर वडाका सबै संस्थामा यो सेवा उपलब्ध हुने बताएका थिए । यो सेवा घुम्ती सेवाका रुपमा १४ वटा वडामा १६ वटै स्वास्थ्य संस्थामा पुग्नेछ ।