राष्ट्रिय नाचघरमा रामचन्द्र चन्द विशेष साङ्गीतिक साँझ हुने
काठमाडौँ – गुल्मेली गायक रामचन्द्र चन्दको विशेष साङ्गीतिक साँझ आयोजना हुदैँछ । ग्रीन सिटी हस्पिटलको प्रायोजन तथा गुल्मी कलाकार समाजको आयोजनामा यही असोज १४ गते साँझ राष्ट्रिय नाचघर जमलमा विजया दशमी शुभकामनासहितको साङ्गीतिक साँझको आयोजना गरिएको हो ।
‘रोग बाँड्न सकिन्न, दुख बाँड्न सकिन्छ’भन्ने नारासहित गायक रामचन्द्र चन्दको उपचार सहयोगार्थ साङ्गीतिक साँझको आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा समाजकी अध्यक्ष मञ्जु पौडेलले जानकारी दिइन् ।
वरिष्ठ लोक गायक बम बहादुर कार्कीले एउटा कलाकारको उपचारको लागि अर्को कलाकारले गर्ने सहयोग नै गुल्मी कलाकार समाजले गर्न लागेको बताए । समाजका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले भने, ‘रामचन्द्र चन्द यो कुनै चन्दा उठाउन लागेको हैन, अप्ठ्यारो नमान्नु ।’
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले कलाकार र सञ्चारकर्मी एक अर्काको परिपूरक भएकाले साङ्गीतिक साँझ सफल पार्न सक्दो सहयोग गर्ने बताए । उनले कार्यक्रम सफलताको शुभकामना समेत दिए ।
पत्रकार टंक पन्तले गायक रामचन्द्र चन्दको उपचारका लागि कार्यक्रमको आयोजना गरिएकाले सहयोगी मनहरू जोडिन र कार्यक्रममा उपस्थित भइदिन आग्रह गरे ।
पत्रकार सम्मेलनमा बोल्दै गायक चन्दले आफ्नो उपचारको लागि गुल्मी कलाकार समाजले आयोजना गर्न लागेको कार्यक्रममा ऐक्यबद्धताका लागि अपिल गर्दै साङ्गीतिक साँझ आफ्नो सपना भएको पनि सुनाए ।
कोरोना कालमा खुट्टामा समस्या देखिएपछि केही वर्षदेखि उनी स्टेज कार्यक्रममा उपस्थित हुन पाएका छैनन् । एउटा अप्रेसन गर्नुपर्ने र त्यसपछि एक वर्ष रेष्टमा बस्नुपर्ने भएकाले पनि साङ्गीतिक साँझ मार्फत सहयोगको याचना गरिएको चन्दले बताए । पत्रकार सम्मेलनमा गायक वैकुण्ठ महत, हुम गैरे लगायतको कलाकर्मीको समेत उपस्थिति रहेको थियो ।
गुल्मीको मदाने गाउँपालिका १ अग्लुङमा जन्मेका गायक चन्द १८ वर्ष देखि लोक दोहोरी क्षेत्रमा सक्रिय छन् । एक सय भन्दा बढी गीतमा स्वर दिएका उनले ‘माया सारै छ’बाट गायनमा डेब्यू गरेका थिए । त्यस यता उनले ‘गुल्मीको शान’, ‘भिरमा रुँदै छु’, ‘मैना’, ‘धोको फेरम्ला’, ‘मुटु गाँठो’, ‘सूर्यमुखी फुल’, ‘भुल्दै भुल्दै जानु’, ‘चरी रुखमा’, ‘तीन फर्के डोरी’, ‘अब देखि एक्लै हुन्न म’, ‘खाली सिउँदो भरम नभन’, ‘यो मायामा रुन नपरोस्’लगायतका गीतलाई दर्शक श्रोताले मन पराएका छन् ।
साङ्गीतिक साँझमा चन्दले आफ्ना लोकप्रिय गीतहरू लाइभ सुनाउने छन् । उनलाई लोक गायिकाहरू लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, टिका पुन, शान्ति श्री परियार, टिका प्रसाईँ, जमुना राना, कमला पोखरेल लगायतले साथ दिने गुल्मी कलाकार समाजका प्रवक्ता तुलसिंह रनपछाईले जानकारी दिए ।
साङ्गीतिक साँझ सफल पार्नका लागि व्यक्ति तथा संस्थागत सहयोग सङ्कलनलाई तीव्रता दिइए पनि साँझमा प्रवेश निःशुल्क गरिएको समाजका महासचिव कमल जिसीले जानकारी दिए ।