सकियो प्रथम कंकेदेउराली महोत्सव
गुल्मी – मदाने गाउँपालिका गुल्मीले आयोजना गरेको प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृति महोत्सव सम्पन्न भएको छ । तीन जिल्लाको संगमस्थलमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र कंकेदेउरालीको प्रचारप्रसार तथा पर्यटन प्रर्वद्धनका लागि यहि पौष ५ गतेदेखि ७ गतेसम्म संचालन गरिएको थियो । ‘घुम्न जाऔं यसपाली कंकेदेउराली’ को उदेश्य सहित आयोजना गरिएको प्रथम कंकेदेउराली महोत्सवमा खुल्ला लोकभजन प्रतियोगिता,बिद्यालयस्तरीय खोजी प्रतिभा (मदाने लोकतारा) कृषि मेला प्रर्दशनी संगै चर्चित कलाकार प्रस्तुती दिएका थिए ।
महोत्सवमा आयोजना खुल्ला लोक भजन प्रतियोगितामा गाउँपालिका भित्रका तीन भजन समूहले मात्रै सहभागिता जनाएको कंकेदेउराली पर्यटन पूर्वाधार विकास समितिका उपाध्यक्ष सुनिल थापाले जानकारी दिए ।आध्यात्मिक जागरण सांस्कृतिक समाज प्रथम, म्यालपोखरी भजन मंडली दोस्रो र पुर्कोट महिला भजन मंडली तेस्रो भएका छन् । प्रथम समूहले १५ हजार र प्रमाणपत्र,द्धितीय र तृतीयले क्रमश १० र ५ हजार सहित प्रमाण पत्र पाएका छन् ।
तीन दिनसम्म संचालित प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृति महोत्सवमा लुकेर रहेको प्रतिभा पहिचानका लागि बिद्यालयस्तरीय खोजी प्रतिभा अर्थात् (मदाने लोकतारा) संचालन गरिएको थियो । जसमा मदाने गाउँपालिका भित्रका सातवटा माध्यमिक बिद्यालयबाट ८० जना प्रतियोगी सहभागी थिए । सहभागीमध्ये चार जनालाई पुरस्कृत गरिएको छ भने अन्य सहभागीलाई पनि सम्मान गरिएको हो । रियाले माध्यमिक बिद्यालयका छात्रा कमला सुनार प्रथम मदाने लोक तारा बन्न सफल भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै सोही बिद्यालयकी बिद्यार्थी वर्षा परियार दोस्रो स्थान हासिल गरेकी छन् । उनले १० हजार र प्रमाणपत्र पाएकी हुन् ।
पृथ्वी माध्यमिक विद्यायकका छात्र अनुपम बिक तेस्रो र अग्लुङ माध्यमिक विद्यालयका छात्रा जालापा खत्री शान्तोवना भएको उपाध्यक्ष थापाले बताए । थापाका अनुसा तृतीयले ८ हजार र शान्तोवनाले ५ हजार सहित प्रमाण पत्र पाएका छन् ।त्यस्तै महोत्सवमा गाउँपालिका स्तरीय कृषि तथा पशुपंक्षी मेला प्रर्दशनी गरिएको थियो । मेलामा सबै वडाबाट कृषि तथा पशुपंक्षी मेला प्रर्दशनी गरिएको आयोजकले जनाएको छ । मदाने गाउँपालिका कृषि शाखा प्रमुख हुमबहादुर थापाले महोत्सवमा पालिका भित्रबाट एक सय आठ बस्तुहरु प्रर्दशनी ल्याईएका थिए । आजभोली गाउँघरबाट लोभ हुन थालेका बालीलाई संरक्षण गर्न कृषि उपजको गुणस्तरीय चेकजाँच गरी स्थानीय र रैथाने बालीलाई महोत्सवमा प्राथमिकता दिइएको थियो ।
कृषि शाखाले गरेको मुल्याङकनबाट उत्कृष्ट हुने कृषकलाई गाउँपालिकाले पुरस्कृत गरेको छ । उत्कृष्ट मध्येबाट प्रथम हुनेले ३ हजार ,दास्रोले २ हजार पाँच सय तेस्रोले २ हजार र शान्तोवनाले ८ सय प्राप्त गरेको कृषि शाखा प्रमुख थापाले बताए । महोत्सव मैदानमा साँस्कृतिक कार्यक्रमहरूसँगै जिल्लास्थित उत्पादन हुने कृषि जन्य समग्रीहरू, मनोरञ्जनात्म पिङ्गलगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामग्रीहरुको बिक्री वितरणको लागि राखिएको थियो । कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको प्रर्दशन गरिएको थियो । महोत्सवमा बरिष्ठ लोक तथा दोहोरी गायक बोम बहादुर कार्की, गायिका मन्जु पौड्याल, लोकदोहोरी गायक तुल्सिङ रनपछाई,विक्रमबाबु विश्वकर्मा,अनिल खत्री लगायत राष्ट्रियस्तरका कलाकारले बेजोड प्रस्तुति दिएका थिए ।
नेपाल सरकारका प्रधानमन्त्री कार्यालयका पूर्व जनसम्र्पक विज्ञ रहेको बेला आफूले कंकेदेउरालीको पर्यटन प्रर्वद्धन र यस क्षेत्रको किासका लागि बहुउदेश्यीय योजना समावेशमा पहल गरेको बुद्धि जिसीले बताए । कार्यक्रममा बोल्दै जिसीले आर्थिक बर्ष २०८०÷०८१ को बजेट भाषणमा देशमा नमुना योग्य दुईवटा जलासाय युक्त प्रोजेट संचालनमा कंकेदेउराली समेत समावेश भएको सुनाए । उनले कंके देउराली मदानेको मात्र नभई जिल्लाकै एक ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यसको विकासमा सबै लाग्नु पर्ने बताए । कंकेको भविष्य पर्यटकीय देउरालीको क्षेत्रमा मात्र नभई धार्मिक हिसाबले पनि उज्जवल रहेको बताउँदै जिसीले आवश्यक विहीन फलाम र कंक्रिटको कम प्रयोग गरेमा यसको थप सौन्दर्यता देखिने बताए ।
कंके देउराली गुल्मीको उत्कृष्ट गन्तब्य हो यसको प्रचारप्रसार गर्नु सबैको दायित्व रहेको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताए । यस क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक आयोजना गरिएको महोत्सवमा उत्साहजनक सहभागिताले सफलतापूर्वक सम्पन्न भएकोे अध्यक्ष कुँवरले बताए । उनले कंकेको विकास र महोत्सव संचालनमा सहयोग गर्ने विभिन्न संघ संस्था लगायत सबैलाई समापनको अवसरमा धन्यवाद दिए । जिल्लाका पर्यटकीय स्थलमध्ये कंकेदेउराली पनि एक भएकाले यस प्रचारप्रसारमा विशेष जोड दिन सकेमा यहाँको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् । ‘गाउँपालिका भित्र थुप्रै सम्भावना बाकेका पर्यटकीय र धार्मिक स्थल छन् ।
जसमध्येको एक महत्वपूर्ण गन्तव्य हो कंकेदेउराली ‘उपाध्यक्ष खड्काले भनिन्’, ‘यसको विकास र पर्यटक भित्राउनका लागि महोत्सवमा लोक भजन प्रतियोगिता , बिद्यालय स्तरीय प्रतिभाको खोजी र टेवा पुगेको छ ।’ आगामी दिनमा यसको विकास र पर्यटक वृद्धिका लागि गाउँपालिकाले आवश्यक योजना र कार्यक्रमको गृहकार्य गरिने गाउँपालिका उपाध्यक्ष खड्काले बताईन् । उनले कंकेको देश विदेशमा प्रचारप्रसारका लागि यी र यस्ता खालका मेला महोत्सवलाई गाउँपालिकाले निरन्तरता दिने बताईन् ।
मदाने गाउँपालिका गुल्मीले आयोजना गरेको प्रथम कंके देउराली कृषि, पर्यटन तथा सांस्कृति महोत्सवमा १५ हजारले अवलोकन गरेका छन् । पछिल्लो समय कंकेदेउराली पर्यटन पूर्वाधार विकास समितिले यस क्षेत्रमा केही नयाँ योजना समेत ल्याएको छ । यस क्षेत्रमा घुम्न र मनमोहक हिमश्रृंखलाको अवलोकन गर्ने पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ । पर्यटकलाई लोभ्याउन यहाँ संग्रहालय, गौतमबुद्धको मूर्ति, फोहरा सहितको पोखरी,भ्यू टावर , पुजाआजाका लागि मन्दिर ,बालबालिका लागि बालउद्यान लगायतका थुपै्र संरचना निर्माण गरिएको छ । जसका कारण पर्यटकको राजाईमा समेत पर्दै गएको छ । कंकेदेउराली पर्यटन पूर्वाधार विकास समितिले प्रवेश शुल्क शुल्क ३० रुपैयाँ निर्धारण गरेको छ ।
यस क्षेत्रमा सरकारको करोडौं लगानी समेत खर्चिएको छ । तीनदिन सम्म कंकेमा संचालन भएको महोत्सवमा १५÷२० लाखको कारोबार भएको आयोजकले जनाएको छ । कंकेदेउरालीबाट अर्घाखाँची ,प्युठान, पाल्पा,रोल्पा, बाग्लुङ्ग र पर्वत लगायतका जिल्लाको अबलोकन गर्न सकिन्छ । यस क्षेत्रमा रहेको मन्दिरमा भाकल गरेमा सबै मनोकाङ्क्षा पुरा हुने धार्मिक बिश्वास रही आएको छ । कंकेदेउरालीक्षेत्रमा बिभिन्न प्रजातिका जडिबुटी तथा बनस्पिति पनि पाइने गर्दछन् । जसमा सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकील लगायतका जडीबुटीहरु पर्दछन् । यहाँ बनस्पतिको रुपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, धुपीसल्ला लगायतका वनस्पतीहरु प्रशस्त पाइने गर्दछन् । मदाने गाउँपालिकाले कंकेदेउराली आवातजावत गर्न सडक, मन्दिर र आर्कषक सिँडी निर्माण लगायतका संरचना निर्माणको काम गरिसकेको छ ।