रेसुङ्गा १४ वडालाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव पारित



गुल्मी – रेसुङ्गा नगरपालिका गुल्मीले वडानम्बर –१४ लाई विभाजन गरी २ वटा वडा बनाउने प्रस्ताव नगरसभाबाट पारित गरेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर – १४ पराल्मीलाई २ वटा वडा बनाउने प्रस्ताव मंगलबार १६ औं नगरसभाबाट पारित भएको हो । १४ वटा वडा रहेको रेसुङ्गा नगरपालिकामा पराल्मी सबैभन्दा ठूलो र विकट रहेकाले त्यस वडालाई विभाजन गरि २ वटा वडा बनाउन मानव संशासन तथा सुशासन समितिका संयोजक हुम बहादुर बस्नेतले प्रस्तुत गरेका थिए । पराल्मी र रातामाटा गरेर रेसुङ्गा १४ भौगलिक रुपमा बिकट र ठुलो मानिन्छ । हाल रेसुङ्गा १४ को वडा कार्यालय र स्वास्थ्य चौकी पराल्मी छन् । तर हालसम्म रातामाटामा वडा कार्यालय र स्वास्थ्य चौकि पुग्न सकेको छैन । पराल्मी टाढा भएकाले नगरपालिकाले वडाबासीलाई सहज सेवा दिन रातामाटामा सम्पर्क वडा र स्वास्थ्य चौकी कार्यालय सञ्चालन गरिएको छ । हाल १४ वटा रहेको यस रेसुङ्गा नगरपालिकामा वडा विभाजनपछि १५ वटा हुनेछन् ।

त्यस्तै विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले रेसुङ्गा नगरपालिका पर्यटन विकास विधेयक , नगरपालिका बजार व्यावस्थापन तथा अनुगमन विधेयक र रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ प्रस्तुत गरेका थिए । रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा हालसम्म भएको प्रगति प्रतिवेदन नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत गरेको थिए । जसमा चालु आर्थिक वर्षको हालसम्म नगरपालिकाले सामाजिक सुरक्षातर्फ जेष्ठ नागरिक १ हजार ९ सय ८१, जेष्ठ नागरिक दलित २८९, जेष्ठ एकल महिला २८७, विधवा ५७०, पूर्ण अशक्त अपाङ्गता भएका ८०, आंशिक अपांगता भएका १६३, बालबालिका दलित ४०३ जना गरी कुल ३ हजार ७७३ जनालाई ३ करोड ५२ लाख ८० हजार १ सय १६ रुपैयाँ वितरण गरिएको प्रतिबेदनमा उल्लेख छ ।


Advertisement

यही अवधिमा २६९ जनाको जन्मदर्ता र ९५ जनाको मृत्युदर्ता गरिएको छ ।जसमा १६ जनाले सम्बन्ध विच्छेद र १३५ जनाको विवाह दर्ता गराएका छन् । यहाँ बसाइसराई गरी आउने परिवार संख्या २३ पुगेको छ भने बसाइसराइ गरी जानेको संख्या ३४ रहेको छ ।रेसुंगा नगरपालिकाले तयार गरेको स्थानीय पाठयक्रम ‘हाम्रो रेसुंगा’ मा आधारित पाठ्यपुस्तक लेखन कार्य अगाडी बढेको छ ।सोही बमोजिम पुस्तकको पाडुलिपि समेत तयार भइसकेको छ । आगामी शैक्षिक शत्रदेखि विद्यार्थीहरुको हातहातमा पुस्तक पुग्ने गरि अगाडी बढेको बताइएको छ । गुल्मी अस्पताल, मेरो अस्पताल“ भन्ने नारालाई मूर्तरूप दिन रेसुङ्गा नगरकार्यपालिकाको दोस्रो कार्यकालको पहिलो बैठकको निर्णय कार्यान्वयन गर्ने जिल्लामै पहिलो पटक डायलाइसिस सेवा प्रारम्भ गरिएको छ । हालसम्म १९ जना रोग पिडितले डायलाइसिस सेवा लिइरहेका मृगौला छन् ।

यो यो सेवा प्रवाहसंगै पाल्पा, बुटवल, काठमाडौँ जाने सास्ती र उपचारका लागि वेड नपाउने समस्यावाट यहाँका नागरिकहरु मुक्त भएका छन।नगरपालिकाको प्रत्यक्ष सहयोग, समन्वय तथा सहजिकरणमा गुल्मी अस्पतालमा शुरु भएको विशेषज्ञसहितको हाडजोर्नी सेवाका कारण हालसम्म ५१३ जना बिरामिले शल्यक्रियासहितको सेवा र बहिरङ्ग सेवा अन्तर्गत २५,३९३ जना हाडजोर्नी बिरामिले यसको सेवा प्राप्त गरेका छन। नगरपालिकाको सहयोगमा जिल्ला आँखा उपचार केन्द्र मार्फत मोतिया बिन्दुको निशुल्क अप्रेशन सेवालाई निरन्तरता दिइएको छ।

जसवाट यस आ.व.मा २२ जनाले मोतिया विन्दुको निशुल्क अप्रेशन सेवा लिइसकेका छन् । रेसुङ्गा नगरपालिकाभित्रका १४ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट प्रत्येक महिना ग्रामीण अल्ट्रासाउण्ड सेवा संचालन भईरहेको छ। उक्त सेवाबाट हालसम्म १२३ जना गर्भवती महिला लाभान्वित भएका छन् । रेसुङ्गा यस आ.व. ०८१÷८२ को आन्तरिक राजश्वतर्फ रु. १ करोड ८० लाख प्रक्षेपण गरेकोमा हालसम्म रु. १ करोड ६ हजार १ सय १४ रुपैया (५५.५८%) रकम संकलन गरेको नगरप्रमुख पन्थीले प्रतिबेदनमा उल्लेख गरे ।

त्यस्तै उनले नगरपालिकाले भौतिक प्रगति करिब ५२ प्रतिशत र वित्तीय प्रगति चालु तर्फ ३४ प्रतिशत र पूँजीगत तर्फ २४ प्रतिशत गरी जम्मा २९.१३ प्रतिशत वित्तीय प्रगति भएको प्रस्तुत गरेका थिए ।हालसम्म २७ वटा योजना तथा कार्यक्रमको टेण्डर प्रकृया अगाडी बढाइएको छ जसमध्ये ३ वटा योजना तथा कार्यक्रम सम्पन्न भैसकेका छन् । सडक बोर्ड तर्फका केही योजनाहरु सम्पन्न भईसकेका छन । केही योजनाहरु कार्यान्वयनको चरणमा रहेको प्रतिबेदनमा उल्लेख छ । वडा स्तरीय योजनातर्फ ७६ वटा योजना सम्झौता भई ३८ वटा सम्पन्न भईसकेका छन् । बाँकी योजना तथा कार्यक्रमहरु सम्झौता गर्ने चरणमा रहेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन