रेसुङ्गामा शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई अभिमुखिकरण
गुल्मी – शैक्षिक गुणस्तर बढाउन रेसुङ्गा नगरपालिका गुल्मीले सामुदायिक माध्यमिक विद्यालयमा पुगेर अभिमुखिकरण तालिम संचालन गरेको छ । रेसुङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अभिभावक शिक्षा कार्यक्रम मार्फत पहिलो चरणमा नगरपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयका अभिभावकहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो ।
पछिल्लो समय विद्यार्थी मोबाइलमा भुल्ने, भनेको नमान्ने, नपढ्ने घरको काममा सहयोग नगर्ने सामान जतन नगर्ने,सामाजिक संजालमा देखिएको विकृति र विसंगती लगायतमा देखिएका समस्या समाधानका लागि अभिभावकलाई अभिमुखिकर
कार्यक्रमको आयोजना गरिएको लेखाजोखा केन्द्रका संयोजक राममणी पन्थीले जानकारी दिए । नगरपालिकाले पहिलो
चरणको अभिभावक अभिमुखिकरण कार्यक्रम नगरपालिका भित्रका १२ वटा सामुदायिक विद्यालयमा गरेको छ । अभिमुखिकरणमा ९ सय ७५ जना अभिभावक सहभागी भएको छन् । यहि पोष २२ गते उपल्लो तम्घास माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम आइतबार भगवती माध्यमिक विद्यालयमा पुगेर सकिएको नगरपालिकाले जनाएको छ ।
दैनिक दुईवटा सामुदायिक माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको बताईएको छ । अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरुमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको अभिभावकले बताएका छन् । विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यावहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने अभिभावक झबिन्द्र घिमिरे बताए । उनले कार्यक्रम मार्फत आफू सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए । नगरपालिकाले संचालन गरेको अभिमुखिकरण कार्यक्रम मार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका छन् ।
समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यावहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला
दिएको अभिभावकले बताएका छन् । उनीहरुले नगरपालिका भित्रका सबै विद्यालयमा पुगेर समय समयमा यस्ता कार्यक्रमको
आवश्यकता रहेकोले आगामी दिनमा थप गर्न समेत माग गरेका छन् । सामाजिक संजालको अव्यवस्थित प्रयोगका कारण समाजमा विभिन्न खालका घटनाहरु घट्दै गएकाले त्यस्ता विकृतीजन्य गतिविधिबाट छोराछोरीलाई टाढा बनाएर असल शिक्षा प्रदान गर्नमा आफूहरु लाग्ने अभिभावकले बताएका छन् ।
रेसुंगा नगरपालिकाले विभिन्न समयमा शैक्षिक गुणस्त वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ ।
यस आर्थिक बर्षमा स्टिम विधिमा आधारित नगरपालिकाले विद्यालयका प्रधानाध्यापक,सहायक प्रधानाध्यापक शिक्षक बिच तीनदिने तालिम संचालन समेत गरिसकेको सूचना अधिकारी तथा शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख पितम्बर पन्थीले जानकारी दिए । जसबाट जिम्मेवारीको बहन र विद्यार्थी र शिक्षकमा असल बानीको विकास हुने अपेक्षा लिईएको छ । विषयगत शिक्षकलाई पनि तालिम प्रदान गर्ने तयारी गरिएको पन्थीले बताए । काठमाडौं बिश्व विद्यालयका स्टिम कार्यक्रमका प्रशिक्षक नवीन मरासिनीले सबै विद्यालयका अभिभावकलाई अभिमुखिकरण दिएका हुन् ।
विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने भगवती माध्यमिक
विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेले बताए ।
उनले विद्यार्थीको पहिलो पाठशाला अभिभावक नै भएकाले नगरपालिकाले प्रत्येक शैक्षिक सत्रमा विद्यार्थी र अभिभावकलाई यस्ता कार्यक्रमको आयोजना गरेमा नगरपालिकको शैक्षिक गुणस्तर बढाउन टेवा पुग्ने बताए ।अभिभावक शिक्षा कार्यक्रम मार्फत अभिभावकलाई अभिमुखिकरणको माध्यमबाट नगरपालिका भित्रका विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नु प्रमुख उदेश्य रहेको रेसुंगा नगरपालिका सामाजिक विकास संयोजक लिलाधर आचार्यले जानकारी दिए । यो कार्यक्रम नगरपालिकाको पहिलो नयाँ कार्यक्रम रहेको बताउँदै आर्चायले अभिभावक शिक्षक हुदैँ विद्यार्थी तहमा पुर्याउने योजना बनाएको बताए ।
यस कार्यक्रममा अभिभावक र विद्यालयको उत्साह देखिएको छ, विद्यालयमा विद्यार्थी र शिक्षकको आवश्यकता अनुसार नगरपालिकाले योजना बनाएर कार्यक्रमको संचालन गर्ने सामाजिक विकास संयोजक लिलाधर आचार्यले बताए ।