रेसुङ्गा माविले जित्यो छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि
गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले संचालन गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माध्यमिक विद्यालयले जितेको छ । सोमबार जिल्लाको सदरमुकाम तम्घासस्थित चिदिचौर खेलमैदान सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, १० रजत र चार कांस्य सहित रेसुङ्गा माविले उपाधि जितेको हो । प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र पाँच कांस्य पदक हात पार्दै सिद्धबाबा माध्यमिक विद्यालय द्घितीय र आठ स्वर्ण, सात रजत १३ कांस्य पदकसहित महेन्द्र माध्यमिक विद्यालय तृतीय हुन् सफल भएका हुन् ।
रेसुङ्गा नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरुमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम,दास्रो र तेस्रो छनोट गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए । प्रतियोगितामा सबैभन्दा धेरै महेन्द्र माध्यमिक विद्यालयले २८ पदक जितेको भएपनि स्वर्ण पदक महत्वपूर्ण भएकोले रेसुङ्गा माध्यमिक विद्यालयले उपाधी हात पारेको हो । प्रतियोगितामा विजेता,उपविजेता र तृतीया हुनेले क्रमश : १८ हजार,१३ हजार र नौ हजार पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएका हुन् । प्रतियोगितामा विधागत प्रथम द्धितीय र उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको पन्थीले बताए ।
रेसुङ्गा नगरपालिकाले आयोजना गरेको स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र र छात्र दौड, छात्र र छात्राबीच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्ट लगायतका खेलमा प्रतिस्पर्धा भएको थियो । माघ ४ गतेदेखि संचालन भएको प्रतियोगितामा नगरपालिकाका १७ वटा विद्यालयले सहभागिता जनाएका थिए । राङबास माध्यमिक विद्यालय र जन विकास माध्यमिक विद्यालयको सहभागिता नरहेको नगरपालिकाले जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले खेलकुदले विद्यार्थीलाई अनुशासित, जिम्मेवार बनाउने बताउँदै खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खत्रीले आगामी दिनमा स्थानीय तहले खेलकुद प्रतियोगितालाई थप विस्तार गरेर विभिन्न खेललाई नगरस्तरीय, अन्तरपालिकास्तरीय र राष्ट्रियस्तरका प्रतियोगितासम्म पुर्याउने योजना बनाउनु पर्ने बताए ।
विजेतालाई पुरस्कार वितरण गर्दै नगरप्रमुख खिलध्वज पन्थीले विद्यार्थी एवं युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै खेलाडी र खेल क्षेत्रको विकासका लागि विभिन्न प्रतियोगिता संचालन गर्दै आएको बताए । उनले विद्यार्थी एवं युवा खेलाडीहरुको पक्षमा नगरपालिका रहेको बताउँदै नगरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने आफुहरुको लक्ष्य रहेको बताए ।
रेसुङ्गा नगरपालिकाको पहिलो र पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माध्यामिक विद्यालयले जितेको थियो। द्रोस्रो, तेस्रो र चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धबाबा माध्यमिक विद्यालयले जितेको थियो।