गुल्मीको सिद्धबाबा माविमा ‘लघु संग्रहालय’ स्थापना



गुल्मी – विद्यार्थीलाई लोपोन्मुख वस्तुको जानकारी दिने उद्देश्यले गुल्मीको एक सामुदायिक विद्यालयमा ‘लघु संग्रहालय’ स्थापना गरिएको छ। जिल्लाको सदरमुकाम तम्घास खानीगाउँस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा संग्रहालयको स्थापना गरिएको हो। प्राचीन समयमा प्रयोग तथा गाउँ समाजमा लोप हुँदै गएका वस्तु तथा सामग्रीबारे विद्यार्थीलाई ज्ञान दिने लक्ष्यसहित ‘लघु संग्रहालय’ स्थापना गरिएको विद्यालयले जनाएको छ।

विद्यार्थीलाई पुर्खाहरूले प्रयोग गरेका वस्तुहरूको संग्रह गरी अहिले प्रयोगमा नभएका वस्तु बारेमा जानकारी गराउन विद्यालयमै संग्रहालयको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए। श्रीसका अनुसार संग्रहालयमा विद्यार्थीलाई पुराना तथा प्रविधिहरूसम्बन्धी वस्तुहरू राखिएको छ। जसमा माना पाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको नाम्लो, डाला, फुगो, माना, तराजु, ढक, कुँचो, गुद्री, मालन, लालटिन, हुक्का, आरी हाडी, मटुलो, पुराना


Advertisement

जमानका पैसालगायतका सामग्री रहेका छन्। त्यस्तै संग्रहालयमा घरायशी भान्सामा प्रयोग हुने त्यस्तै खुकुरी सिलौटो, लोहोरो, प्राचीन वाद्यवादनका सामग्रीसमेत राखिएको छ।

शैक्षिक ज्ञानसहित प्राचीनको समयमा प्रयोग भएका सामग्री र त्यसको महत्त्वबारे विद्यार्थीलाई जानकारी दिन संग्रहालयको स्थापना गरिएको प्रधानाध्यापक श्रीसले बताए। संग्रहालयमा विभिन्न क्रियाकलापका तस्बिरहरू, विद्यार्थीले निर्माण गरेका हस्तकलाका सामग्रीहरू, विद्यालयका ऐतिहासिक तस्बिरहरू, गाउँघरमा काठबाट बनेका सामग्रीहरू राखिएको छ।

‘पछिल्लो समय बजारमा आधुनिक प्रविधिका सामग्री भित्रिएका छन्। प्राचीन समयमा प्रयोगमा आएका बस्तु र सामग्री अहिले लोभ हुने अवस्थामा छन्’, उनले भने, ‘पहिलेका महत्त्वपूर्ण सामग्रीहरू अहिले प्रयोगमा नआएकाले त्यसको संरक्षण र जानकारीका लागि विद्यालयमा संग्रहालय स्थापना गरेका छौं। विभिन्न ठाउँबाट पाल्नु हुने

पाहुना वा भ्रमणमा आउने विद्यार्थीलाई हामीले विद्यालयको लघु संग्रहालयमा अवलोकन गराउने र त्यसका बारेमा जानकारी दिने योजना अगाडि सारेका छौं।’

परम्परागत सीप, संस्कृतिसमेत संकटमा पर्दै जान थालेपछि विद्यालयले विद्यार्थीलाई दुना टपरी बनाउने तालिम प्रदान गर्दै आएको छ। अतिरिक्त समयमा प्रदान गरिने दुना टपरी खुट्नेलगायतका तालिममा विद्यार्थी उत्साहपूर्वक सहभागी हुने गरेका छन् ।

जिल्लामा राम्रो पहिचाहन बनाउन सफल यस सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीको माग अनुरूप विषय थप गरेर पठनपाठनसमेत गर्दै आएको छ। यसै शैक्षिक सत्रदेखि विद्यालयमा होटल म्यानेजमेन्ट विषय थपिएको छ। होटल म्यानेजमेन्ट विषय पढ्न

अन्यत्र जिल्ला धाउनुपर्ने बाध्यतासमेत टरेको छ। विद्यालयमा अहिले ५६ जना विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ।

अहिले केही सामुदायिक विद्यालय शैक्षिक परिणाम उत्कृष्ट बन्दै जान थालेका छन्। जसमध्येको एक सिद्धबाबा माध्यमिक विद्यालय पनि हो। यस विद्यालयले पछिल्लो समय विद्यार्थीको पहिलो रोजाइमा रहेको सामुदायिक विद्यालयमा पर्दछ। गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता विषयमा ध्यान दिने गरेको छ।

विद्यालयमा दुई वटा स्कुल बस, आफ्नै चमेनागृह, सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याब, नेपाली, अंग्रेजी, सामाजिक विषयका विषयगत ल्याब कक्षहरूको व्यवस्था गरिएको छ।

विद्यालयमा प्राथमिक उपचार कक्ष रहेको छ। उक्त कक्षमा स्वास्थ्यकर्मीको समेत व्यवस्था विद्यालयले गरेको छ। विद्यायलमा सेनेटरी प्याडको व्यवस्था, विद्यार्थीले विभिन्न अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुने गरेका छन्। विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। लुम्बिनी प्रदेशमै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा, मानविकी, कम्प्युटर इन्जिनियरिङका विभिन्न विषयसमेत पढाइ हुँदै आएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.