रेसुङ्गाका विद्यार्थीको नि:शुल्क बाथ र मुटु जाँच
गुल्मी – गुल्मीमा रेसुङ्गा नगरपालिकाका भित्रका १५ बर्ष उमेर समुहका आठ हजार विद्यार्थीको नि: शुल्क वाथ, मुटुरोग चेकजाँच गर्न सुरु गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीको मंगलबारदेखि नि:शुल्क स्वास्थ्य परिक्षण सुरु गरिएको हो ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजना सुरु गरिएको नि:शुल्क वाथ र मुटु रोग परिक्षणको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख पन्थीले नगर भित्रका प्रत्येक नगारिकको स्वास्थ्य सेवामा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए ।
उनले पछिल्लो समय क्यान्सर, मृगौला र मुटुका बिरामी धेरै भेटिन थालेका छन् । नसर्ने त्यस्ता खाले रोगको बारेमा विद्यार्थीलाई जानकारी दिने र ऊनीहरुको नि: शुल्क स्वास्थ्य परिक्षणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको बताए । विद्यार्थी मार्फत समाज र समुदायमा विद्यार्थी मार्फत यस रोगको जानकारी र निवारणको उपायबारे सचेतना फैलाउन यस अभियानले थप टेवा पुग्ने नगरप्रमुख पन्थीले जानकारी दिए । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताउँदै निर्माणधिन सुबिधासम्पन्न गुल्मी अस्पतालको नयाँ भवनमा आइसियु निर्माण सहितको स्वास्थ्य सेवा प्रदान गर्ने गरेर नगरपालिकाले योजना बनाएको बताए ।
केन्द्रिय समिती सदस्य तथा पुर्व जिल्ला अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले पछिल्लो समयमा सर्ने भन्दा नसर्ने रोग बालबालिकामा बढेको बताए । उनले नेपालमा बालबालिका सहित मानिसमा अत्याधिक मुटु रोग देखिएकाले त्यसको निवारणका लागि २०४५ सालमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान स्थापना भएको जानकारी दिए ।
अहिले नेपालका नेपाल हृदय रोग निवारण प्रतिष्ठानका ५७ जिल्लामा शाखा रहेका छन् । २०६६ सालमा गुल्मीमा स्थापना भएको प्रतिष्ठानले जिल्लामा विभिन्न समयमा स्वास्थ्य शिविर लगायतका कार्यक्रम सन्चालन गरेर नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।
स्थानीय सरकारसंगको सहकार्यमा गुल्मी जिल्लामै पहिलो पटक विद्यार्थीको स्वास्थ्य परिक्षण गर्न लागेको पुर्व जिल्ला अध्यक्ष पाण्डेले बताए । नगरपालिकाभित्रका विद्यालयमा संचालन गरिएको स्वास्थ्य परिक्षण अभियान मार्फत जिल्लाभरको अवस्था सर्वेक्षण गरिने उनले बताए ।
रेसुङ्गा नगरपालिकाभर सामुदायिक र संस्थागत ५० वटा विद्यालय छन् । अहिले देशमा क्यान्सर, मृगौला र मुटुका बिरामी धेरै भेटिन थालेका छन् । विद्यार्थी उमेरमा बाथ र मुटुरोग किन लाग्छ ? रोग लाग्नुको कारण के हो ? यसको रोकथाम तथा निवारण कसरी गर्ने ? भन्ने बारेमा विद्यार्थीलाई मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडे जानकारी दिएका थिए । उनले कतिपय बालबालिकामा जन्मजात रोग लाग्ने बताए । गरीबी, सिमान्तकृत बालबालिकामा बिशेष मुटु रोग लाग्ने गरेको पाइन्छ । अहिले वाथ र मुटुको रोग कम भएको तर यसको जोखिम कायमै रहेको बताउँदै विशेषज्ञ डाक्टर बन्जाडेले विद्यार्थीमा देखिएमा समस्या समाधान यसले थप टेवा पुग्ने बताए ।
धुम्रपान, मद्यपान, मोटोपना, शारीरिक निष्क्रियता,खराब खानपिन मुटु रोगका कारण हुन् ।

नेपालमा प्रत्येक बर्ष १ हजार बालबालिकाको मुटु रोगका कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । विभिन्न कारणले अहिले १ लाख बालबालिका यस रोगबाट ग्रसित छन् ।
जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयबाट सुरुभएको नि:शुल्क स्वास्थ्य परिक्षण तीनदिन सम्म चल्ने छ । नगरपालिका भित्रबाट आएको तथ्यांकका आधारमा जिल्ला र बालबालिकाको स्वास्थ्य अवस्थाको सर्वेक्षणमा मद्दत पुग्ने आयोजकले अपेक्षा लिएको छ ।