प्रशासन कार्यालयलाई सांसद भुसालले दिए ह्वीलचियर
गुल्मी – लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई ह्वीलचियर हस्तान्तरण गरेका छन् । शुक्रवार सांसद भुसालले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अशक्त तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि ह्वीलचियर प्रदान गरेको सांसद भुसालले बताए ।´जिल्लाका विभिन्न स्थानबाट प्रशासन कार्यालयमा अशक्त तथा अपाङ्गता भएका सेवाग्राही आउने र उनीहरुलाई आवश्यक फाँटमा पुग्न असहज भएको देखेको छु,´उनले भने` प्रशासनमा सेवा लिन जुनसुकै समय आउने अपांग र अशक्त सेवाग्राहीको सहजताका लागी ह्वीलचियरले प्रदान गरिएको छ ।
नागरिकले दु:ख पाएको देखेपछि आफुले ह्वीलचियर प्रदान गरेको सांसद भुसालले बताए। प्रमुख जिल्ला अधिकारी गौतमले यो पुण्य तथा महान कार्यको लागि सांसद भुसाललाई धन्यवाद दिए । उनले जिल्लाका १२ तहका जुनैसुकै ठाउँबाट प्रशासन कार्यालयसम्म सेवा लिन आउने अशक्त सेवाग्राहीका लागि मात्र ह्वीलचियर प्रयोग गरिने बताए । पछिल्लो समय कार्यालयसम्म आउन नसक्ने नागरिकको घरमै पुगेरै सेवा प्रवाह गर्दै आएको उनले बताए ।
केही समय अगाडी रेसुङ्गा नगरपालिका – ७ नेटाका १७ वर्षीय जन्मजात अशक्त नवीन मरासिनीलाई नागरिकता प्रदान गरिएको थियो । प्रशासन कार्यालय सेवा प्रवाहमा अब्बल बन्दै गएको छ। नागरिक मैत्री सेवा प्रवाहका लागि प्रशासन कार्यालयले विद्युतीय टोकन, जेष्ठ नागरिक विश्राम स्थल, घरमै नागरिकता वितरण, बजार अनुगमनलगायतका काम गर्दै आएको छ ।
प्रशासनले उपभोक्ताको हितविपरीत हुने क्रियाकलाप रोक्न बजार अनुगमन, विकास निर्माणमा सहजीकरण गर्न स्थलगत अनुगमन, विपदमा स्थलगत अध्ययन गरी तत्काल राहत, कार्यालयमा सेवा लिन आउने जेष्ठ नागरिक तथा विभिन्न किसिमबाट अपांगता भएका सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको प्रशासन कार्यालयले जनाएको छ ।