गुल्मी अस्पतालमा ईएमआर प्रणाली सुरु
गुल्मी – लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मीमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विहिबारदेखि विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी देशभरमै नवौं स्थानमा रहेको छ । ईएमआर प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले सेवा सुभारम्भ गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन नेपालका डा.एलिसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले अस्पताल विकास समितिका अध्यक्षत गोपाल पाण्डे तथा अस्पतालका निमित्त प्रमुख बिभव बस्याललाई हस्तान्तण गरेका थिए ।
नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेकाले यसमा लुम्बिनी प्रदेश सरकार सचेत रहेको स्वास्थ्य मन्त्री सारुले बताएका छन् ।उनले पछिल्लो समय विभिन्न कारणले राजनितिक दल र नेतृत्व प्रति नागरिकको चरम आक्रोश पैदा भएको बताए । नागरिकको आक्रोशलाई न्यूनीकरण गर्न जिम्मेवार तहका सबैले गुणस्तरीय सेवा प्रवाह गर्नुमा उनले जोड दिए । स्वास्थ्यमन्त्री सारुले प्रदेश सरकार जनताप्रति जवाफदेही र जनताले सरकारको महसुस गर्ने गरि काम गरिरहेको बताए ।
अहिले शुसासन कायम गर्न प्रदेश स्वास्थ्य मन्त्रालय ५५ बुँदे लक्ष्यका अगाडी बढेको छ । मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका सवारीमा जीपीएस जडान गर्ने, शुल्क सहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरुको प्राइभेट अस्पतालहरुमा नाम देखिने गरी राखिएका बोर्डहरु हटाउने लगायतका कामहरु सुरु गरेको जानकारी दिए ।
उनले विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणालीले अस्पताल र सेवाग्राहीलाई सेवा लिन र दिन सहज हुने बताए । गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको कार्यमा ढिलाई भएको लुम्बिनी प्रदेश सभासदस्य डिल्लीराज भुसालले गुनासो गरे ।उनले जिल्ला अस्पतालमा गुल्मी,पाल्पा प्युठान लागयतका आसपासबाट सेवाग्राही आउने भएकाले यहाँ बिरामीको चाप बढिरहेको बताए ।पहाडी जिल्ला र सानो ठाउँ भएकाले विशेषज्ञ डाक्टर गुल्मी आउन गाह्रो मान्ने गरेका बताउँदै प्रदेश सभा सदस्य भवन निर्माणको कार्यलाई तिव्र गतिमा बढाउन उनले आग्रह गरेका छन् ।
उनले भवन निर्माण कार्य छिटो सम्पन्न गरेमा उपचारका लागि बुटवल काठमाडौं लगायतका शहरमा जानुपर्ने झन्झटबाट गुल्मीबासीले मुक्ति पाउने बताए ।यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरीमै नवौं अस्पताल रहेको छ । विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । यस प्रणालीले नागरिकलाई गुणस्तरीय तथा विश्वसनीय सेवा प्रवाहमा सहज हुने विश्व स्वास्थ्य संगठन नेपालका डा.एलिसनले बताए ।
उनले यसको अधिकत्तम प्रयोग गरेर सेवा दिन अस्पताल र लिन सेवाग्राहीलाई आग्रह गरे ।ईएमआर प्रणाली मार्फत बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुने विश्व स्वास्थ्य संगठन नेपालका अधिकृत सुदन ज्ञवालीले जानकारी दिए । यस प्रणाली मार्फत बिरामीको एकीकृत तथ्यांक प्राप्त हुने हुँदा अस्पताललाई थप सेवा प्रवाहमा सहज हुने उनले बताए ।
ज्ञवालीले एकीकृत तथ्यांकको भण्डारण र व्यवस्थापनले सेवाग्राही र प्रदायकलाई हुने सहजताले स्वास्थ्य सेवा प्रवाह प्रभावकारी हुने बताए ।गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले ईएमआर प्रणाली मार्फत बिरामीलाई टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता,औषधिलगायत विवरण जानकारी लिन सकिने बताए । एकपटक यस प्रणालीमा जोडिएपछि बिरामीको बिगतदेखि वर्तमानसम्मका विवरण सजिलै उपलब्ध हुनेछन् ।
यो प्रणाली मार्फत रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार पर्नेछ । विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणालीको ३४ लाखको लागत रहेको छ ।गुल्मी अस्पतालमा अहिले प्रसूति र हाडजोर्नी विशेषज्ञ सेवा विस्तारले सेवाग्राहीलाई सहज बनाएको छ । पछिल्लो समय अस्पतालमा मृगौला पीडितहरुका लागि डायलाइसिस सेवा विस्तार गरिएको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।नगरप्रमुख पन्थीले स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ नागरिकलाई सेवा दिन आग्रह गरेका छन् ।
नगरपालिका नागरिकको स्वास्थ्य र स्वास्थ्यकर्मीको पक्षमा सदैव रहेको उनले बताए ।जसका कारण अहिले बिरामीको थप चाप बढिरहेको छ । ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।आईसीयू, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरी ५ तलाको नयाँ भवन बन्न लागेको हो ।
गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेयले सबैको सुझाव ग्रहण गरेर अस्पताल विकास र गुणस्तरीय सेवा प्वाहका लागि कार्यान्वयन गर्ने बताए ।उनले अस्पतालका सेवा प्रवाहलाई चुस्त दुस्त बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । निर्माणधि भवन सम्पन्न भएर संचालनमा आएपछि जिल्लाको स्वास्थ्य क्षेत्रमा छुट्टै इट्टा थपिनुका साथै विभिन्न रोगको गुणस्तरीय सेवा यहीबाट उपलब्ध हुने उनको भनाई छ ।