आर्थिक अभावका कारण गुल्मीमा आठ महिने शिशुको उपचारमा समस्या
गुल्मी – मदाने गाउँपालिका –३ सिर्सेनी सिमकी सुमित्रा परियार अहिले उमेरले २५ वर्षकी भइन् । उनी जन्मजातै कान सुन्न र बोल्न सक्दिनन् । उनले उपल्लो तम्घास माध्यमिक विद्यालयमा कक्षा ६ सम्म अध्ययन गरिन् । घर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले पढाई त्यही रोकियो । पढाई छोडेर उनी गाउँ फर्किएर परिवारलाई घरयासी काममा सघाउन थालिन् । त्यसको केही समयपछि उनको मालिका गाउँपालिका ५ छापका काकु परियारसँग विवाह भयो । अहिले उनको विवाह भएको पनि दुई वर्ष वितिसक्यो । उनका श्रीमान सुन्न सक्छन् त बोल्न सक्दैनन् । उनीहरुलाई पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ । छोरा जन्मिएको २५ दिनपछी उनी सुत्केरी बस्न माइती घर सिर्सेनी गईन् । सुत्केरी बस्न गएकी उनी हालसम्म माइतीकै साहारामा बसेकी छन् । अहिले छोरा साहारा परियार आठ महिनाको भए । छोरा साहारा विगत केहीदिन देखि बिरामी छन् । उनलाई स्वासप्रस्वासमा गाह्रो भएपछि फागुन ९ गते राति छिमेकीको गाडीमा गुल्मी अस्पतालमा ल्याइयो ।
अस्पतालमा स्वास्थ्य चेकजाँच गर्दा छोरालाई निमोनिया देखियो । डाक्टरले केहिदिन अस्पतालमा बच्चाको भर्ना गरेर उपचार गरिने बताए । उनको परिवारले भोलीपल्ट दिउँसो शिशुको भर्ना गर्यो । अस्पतालले एसडियुमा भर्ना गरेर छोराको उपचार गर्न थालेको केहीदिन बित्यो । तर, बच्चाको स्वास्थ्य अवस्थामा सुधार नआएको अस्पतालका डाक्टर विद्या पन्थी सुनारले बताइन् । बच्चालाई नियोनियाले वढि गालिसकेकाले जिल्ला बाहिरका सुबिधासम्पन्न अस्पतालमा थप उपचारको लागि लग्न डाक्टरले परिवारलाई आग्रह गरे । डाक्टर विद्याका अनुसार बिरामीलाई जतिबेला पनि आइसियु वा भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले जतिसक्दो छिटो सुविधासम्पन्न अस्पतालमा लैजान अस्पतालले सुझाव दिएको थियो । तर,छोरालाई थप उपचार गर्ने पैसा नभएपछि आमा त्यही अस्पतालमा बस्न बाध्य थिइन् ।
नातिको उपचारका मावली हजुरबुबा भेषबहादुर कामी पनि उनीहरु संगै छन् । आर्थिक अभावका कारण अस्पतालमा आमा र शिशु दुबैको बिचल्ली बनेको थियो । छोरा साहारा रहेको अस्पतालको वेड वरपर अन्य बिरामी पनि छन् । भर्ना भएका अरु बिरामीले गरेको कुरा सुमित्राले देख्न सक्छिन तर सुन्न र बोल्न सक्दिनन् । त्यस कारण पनि उनले आफूलाई परेको पीडा कसैलाई व्यक्त गर्ने त कुरै भएन । श्रीमान काकुका घरमा पनि बुवा, जेठो दाई र माइलो दाई पनि अपाङ्ग छन् ।
काकु पनि आफैमा अपाङ्ग छन् । विवाह भएको केही समयसम्म सम्बन्ध ठिकै रहेपनि अहिले घर परिवारले वेवास्ता गरेका कारण सुमित्रा माइतिकै सहारामा छिन । बुवा भेषबहादुरले नातीको जिवन बचाउन उनीसंगै अस्पतालमा धाएका छन् । आर्थिक अभावका कारण बच्चाको उपचारका लागि जिल्ला बाहिर नगएपछि गुल्मी अस्पतालले सामाजिक सुरक्षा कोषबाट खाना र औषधीको व्यवस्था गरेको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । आइतबार विहान रेसुंगा नगरपालिका –१० सिमिचौरका कृष्णकुमार बस्नेतले आमालाई लिएर अस्पताल आए । उनले आमालाई निमोनिया देखिएपछि अहिले त्यही भर्ना गरेर उपचार गराई रहेका छन् । बिरामी आमा नजिकैको वेडमा उनले निन्यौरो अनुहारमा आमा र बच्चा देखे । बस्नेतले त्यी आमालाई केही सोधे तर, उनीबाट केही वक्य आएन । अस्पतालमा भर्ना भएका अन्य बिरामीले उनीहरु केही दिनदेखि त्यही रहेको बताए । बिरामी बच्चाको आमा नबोल्ने सुनाए । आर्थिक अभावले बच्चाको थप उपचारका लागि अनेत्र नगएको थाहा पाए ।
आमा भोकाएको महशुस गरेर त्यस दिन दिउँसो नास्ता पानी खुवाएको उनी बताउँछन् । अस्पतालले बिरामी रेफर गरेपनी आवश्यक उपचार खर्च नहुँदा लैजान नसकिएको हजुरबुबा भेषबहादुरले बताए । उनले आफूसंग भएको पैसा यही अस्पतालमा सकिएको सुनाए । बस्नेतले यस्तो बेलामा सुत्केरी आमाले पौष्टिक तत्व भएका खानेकुरा खानुपर्ने हो तर,गरिबीकै कारण भोकै बस्नुपर्नेे विडम्बना रहेको सुनाए । “यो देशमा गरिब,विपन्न र अशक्त नागरिकले पैसा अभावकै कारण आफ्नो ज्यान गुमाउनु परेको छ,आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका कारण जीवन जाने अवस्थामा रहेका व्यक्तिहरू उपचारको जिम्मा राज्यले लिनुपर्छ,” उनले भने । उनले आर्थिक अभावकै कारण अस्पतालमा छटपटाई साहाराको उपचारका लागि सबैमा सहयोगको अपिल गरे ।
बिरामी बच्चाको घरमा खबर दिएपनि उनको परिवार अहिलेसम्म सम्पर्कमा आएको छैन् । बोल्न नसक्ने सुमित्राले आँखाबाट आसु निकाल्दै हातको इसराले छोरा बचाइदिन आग्रह गरेकी थिइन् । उनको माइती परिवारले ज्याला मजदुरी गरेर जीविको पार्जन गर्दै आएको छिमेकी खिमानन्द भट्टराईले बताए । थप उपचार गर्न बाहिर जान डाक्टरहरुले सुझाव दिएपनि आर्थिक अभावको कारण पीडित परिवारले बेड छोड्न नसकेको उनले बताए । आइतबार दिउँसो हजुरबुबा नातिको उपचारका लागि पैसा जोहो गर्न गाउँ गएका थिए । तर, केहि उपाय नभएपछि सोबार विहानै खाली हात अस्पताल फर्किएको भट्टराइले जानकारी दिए ।
बिरामी छोरा बचाउने भगवानसंग प्राथाना गर्दै आमा अस्पतालको वेडमा छट्पटाई रहेकी छन् । छोरा हेर्दै आँसुले दिनरात कटाउँदै आएकी सुमित्रालाई सोमबार केही राहत महशुस भएको छ । पत्रकार र अधिकारकर्मीहरुले बच्चाको थप उपचारको लागि बाहिर पठाउन सहजीकरण गरिरहेका गरे ।सोमबार दिउँसो उनलाई थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । अस्पतालले निशुल्क एम्बुलेन्स सेवा प्रवाह गरेको छ भने पत्रकारको आग्रहमा उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । पीडित परिवारको सहजीकरणको लागि प्रशासन र सिर्सेनी समाजसंग समन्वय बिरामीलाई बुटवल पठाएको नेपाल पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए । मानव अधिकारकर्मी समेत रहेका अर्यालले बच्चाको अवस्था दयानीय भएकाले पीडित परिवारलाई राहत दिलाउन आफूहरुले सहयोग गरेको बताए । उनले निमोनियाले च्याँपेको बच्चा थप उपचारमा सहजीकरण गर्ने सबैमा धन्यबाद दिए ।
माइतीले आफ्नो पहुँच माथिल्लो निकायमा नभएको बताउँदै बच्चाको उपचारका लागि सबैमा आर्थिक सहयोगको याचना छन् । मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गरिब,विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यलाई थप उपचारका लागि पालिकाले केही आर्थिक सहयोग प्रदान गर्दै आएको बताइन् । गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षा राख्नु सबैको दायित्व रहेको बताउँदै उपाध्यक्ष खड्काले परियारको उपचारमा देश विदेशमा रहनुहुने सबैले सक्दो सहयोग गर्न आग्रह गरिन् ।