दोस्रो गुल्मी महोत्सव चैत २९ गतेदेखि हुने



गुल्मी – गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा दोस्रो गुल्मी महोत्सव हुने भएको छ। चैत २९ गतेदेखि वैशाख १३ गतेसम्म कृषि, पर्यटन, व्यापार एवम् औद्योगिक मेला हुने भएको हो। आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो। जिल्लाको सदरमुकाम तम्घासस्थित नुनथलामा महोत्सव हुने चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेले जानकारी दिए।

महोत्सवको माध्यमबाट जिल्लाका कला संस्कृति र मौलिकता संरक्षण गरिनुका साथै त्यसको थप प्रचारप्रसार गरिने कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताए। उनले महोत्सवमा स्टल राख्ने स्थानीय व्यापारी र उद्यमीलाई सहुलियत प्रदान गरिने बताए। महोत्सवमा कला संस्कृति र झाँकीसहित यहाँका स्थानीय खानालाई समेत जोड दिइने उनले बताए।


Advertisement

दोस्रो महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाख जनाले अवलोकन गर्ने अपेक्षा गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए। महोत्सवमा प्रवेश शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ। जसमा विद्यार्थीलाई प्रवेश टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ।

जिल्लाको व्यापार व्यवसाय र आर्थिक चलायमान गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको समापनपछि पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरिने अध्यक्ष पाण्डेले बताए। १५ दिनसम्म चल्ने महोत्सवका लागि आयोजकले स्थानीयको १० रोपनी जग्गा लिजमा लिएको छ।

जिल्लाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय कला संस्कृतिको संरक्षण र खेलकुद क्षेत्रको विकास तथा गुल्मीमा आर्थिक गतिविधि चलायमान बनाउन यस महोत्सवले ठूलो टेवा पुग्ने रेसुङ्गा नगरपालिका-१ का वडाध्यक्ष रामप्रसाद पन्थीले बताए। महोत्सव मार्फत पर्यटन प्रवर्द्धन गर्न रेसुंगा नगरपालिकाले सञ्चालन गरेको जाऊँ हिँड रेसुंगा अभियानलाई समेत थप टेवा पुग्ने अपेक्षा लिएको उनले बताए।

यस महोत्सवमा दुईसय बढी स्टल रहने बताइएको छ। आयोजकले स्थानीय स्तरमा उत्पादित कृषि तथा घरेलु सामानहरूलाई निःशुल्क स्टलको व्यवस्था गरेको छ। महोत्सवमा प्रत्येक दिन सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको सहभागिता रहनेछ।

महोत्सवमा गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई प्राथमिकता दिइनेछ। चेम्बर अफ कमर्शले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ। साथै यस महोत्सवबाट केही रकम सामाजिक क्षेत्रमा खर्चिने आयोजकले जनाएको छ। तम्घासको चिदिचौरमा गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा प्रथम गुल्मी महोत्सव पाँच वर्ष पहिले गरिएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.