गुल्मीको मदानेमा रैथाने गाईलाई प्रसुति भत्ता
गुल्मी – गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ्गमा स्थानीय रैथाने गाईलाई प्रसुति भत्ता वितरण गरिएको छ। वडाले आफ्नै वार्षिक बजेटबाट कार्यक्रम पारित गरी चालु आर्थिक वर्षमा एक लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए।
उक्त बजेटबाट ३० जना गाईपालक किसानलाई प्रति किसान २ हजार ५ सय रुपैयाँका दरले प्रसुति भत्ता वितरण गरिएको हो। स्थानीय रैथाने गाई लोप हुने अवस्थामा पुगेपछि संरक्षणका लागि यस्तो पहल गरिएको वडाध्यक्ष चन्दको भनाइ छ। “स्थानीय रैथाने गाई लगभग लोप हुने अवस्थामा छन्,” उनले भने, “हामीले संरक्षणको उद्देश्यले प्रसुति भत्ता कार्यक्रम ल्याएका हौं।”
गाई संरक्षणले धार्मिक आस्था र पूजाआजाजस्ता सांस्कृतिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ। साथै, किसानहरू आर्थिक रूपमा लाभान्वित भएका छन्। पछिल्लो समय ग्रामीण क्षेत्रमा हेलाको रूपमा हेरिँदै आएको गाईपालन व्यवसायलाई पनि यसले केही हदसम्म प्रोत्साहन दिएको स्थानीयवासीहरू बताउँछन्।
अग्लुङ्गले प्रत्येक वर्ष नवीन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शिक्षाको क्षेत्रमा विभिन्न तहमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण तथा सामाजिक विकासतर्फ बुहारी सम्मानलगायतका कार्यक्रमहरू सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।