इस्मा नृत्य प्रतिभा–२०८२’ बनिन् सुस्मिता
गुल्मी – ‘इस्मा नृत्य प्रतिभा–२०८२’ सुस्मिता महत बनेकी छिन् । इस्मा गाउँपालिकाले संचालन गरेको ‘इस्मा प्रतिभा पहिचान–२०८२’ अन्तर्गत ‘इस्मा नृत्य प्रतिभा–२०८२’ सुस्मिता महत बनेकी हुन् ।
वडा तहमा पहिलो चरण र सेमिफाइनल चरण हुँदै फाइनल चरणमा गरि २ सय ५० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै वडा नम्बर ३ की महत ‘इस्मा नृत्य प्रतिभा–२०८२’ बनेको निर्णयक समिति संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति गुल्मीका पूर्वअध्यक्ष खुम खत्रीले जानकारी दिए । फाइनल चरणमा १५ जनाले प्रस्तुति राखेका थिए । जसमध्ये ३ जना गायनतर्फ र १२ जना नृत्यतर्फ रहेका थिए । एक समूह सहित १३ वटा प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
नृत्यतर्फ बिजेता उनले २५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन् । गाउँपालिकाले बैशाखदेखि वडा तह हुँदै जेठमा सेमिफाइनल र असारमा फाइनल चरणको कार्यक्रम गरेको हो । जसमध्ये वडा तहमा पहिलो चरणमा २ सय ५० जना भन्दा बढी सहभागी भएका थिए । जसमध्ये ७० जना सेमिफाइनलमा प्रवेश गरेका थिए । त्यसपछि १५ जनाको १३ प्रस्तुति फाइनल चरणमा प्रवेश गरेको थियो ।
गाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि गाउँपालिकाले यो कार्यक्रम अगाडि बढाएको हो । जसमा सबै प्रकारका विधाबाट सहभागिता जनाइएको थियो । प्राथामिकता भने लोक गायन र नृत्यलाई बढी दिइएको थियो ।
कार्यक्रममा इस्मा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शेरबहादुर कुँवर र वडा नम्बर ५ का वडाध्यक्ष झबिन्द्र अर्यालसहितका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कला र सँस्कृतिको जगेर्ना साथै इस्मा गाउँपालिका भित्र रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यक्रम गरिएको प्रतिभा पहिचान कार्यक्रमका अध्यक्ष इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन् । ‘प्रतिभा भएका व्यक्तिलाई उचित अवसर दिनु हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘प्रतिभा पहिचान, प्रष्फुटन र प्रोत्साहन गर्नका लागि यो कार्यक्रम ल्याएका हौँ ।’ इस्मा गाउँपालिकाले गतवर्ष पनि इस्मा प्रतिभा पहिचान कार्यक्रम संचालन गरेको थियो ।