नीति कार्यक्रम र बजेटका लागि मुसिकोटले गर्ने सुझाव संकलन
गुल्मी ( गुल्मीको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सबैक्षेत्रको प्रतिनिधित्व हुने गरी सुझाव संकलन गरेको छ । आ।व।२०८२र०८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको काममा जुटेको नगरपालिकाले सर्वपक्षीय भेला सहित सुझाव संकलन गरेको हो ।
विभिन्न संघसंस्था, दलीय प्रतिनिधि र स्थानीय साथै अन्य सरोकारवाला सहितको भेला आयोजना गरी आईतबार नीति, कार्यक्रम तथा बजेट बारे सुझाव संकलन गरिएको छ ।कार्यक्रममा कृषि, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विषयलाई प्राथमिकताका साथ समेटेर बजेट निमार्ण गर्न सरोकारवालाले सुझाएका छन् । उनीहरुले नीति अनुसारको कार्यक्रम र कार्यक्रम अनुसारको बजेट बनाउनु सुझाव दिएका हुन् ।
कार्यक्रममा अगुवा कृषक चुमा घर्तीले नगरपालिकाले केही कृषि उपजहरुमा आत्मनिर्भर घोषणा गरी त्यस्ता सामाग्री बाहिरबाट आयात पूर्ण रुपमा रोक्नुपर्ने सुझाव राख्दै अनुदान दिएका कृषि सामाग्रीहरुको नियमति अनुगमन गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी मुसिकोट वडागाउँ उपशाखा सभापति मदनदिप घिमिरेले रेडक्रसलाई विपत व्यवस्थापनका आवश्यक सामाग्रीहरु उपलब्ध गराउन आग्रह गर्नुभयो ।
दलित समुदायका अगुवा अर्जुन परियारले जातिय विभेद उन्मूलनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीति बनाउन आग्रह गर्दै लिफ्ट खानेपानी आयोजना अत्यन्तै महंगो भएकाले सर्वसुलभ बनाउन सुझाव दिनुभयो ।होटल व्यवसायी मञ्च मुसिकोटका अध्यक्ष विवेक काफ्लेले फोहोर व्यवस्थापनको दिर्घकालिन उपाय खोज्न, बजार अनुगमन प्रभावकारी बनाउने गरी नीति बनाउन आग्रह गर्नुभयो । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले नगरपालिका भित्र रहेका व्यवसायहरुको लगत संकलन गरी वर्गीकरण गर्न र सोही अनुसार कर लिन आग्रह गर्नुभयो ।
त्यस्तै कृषक बेल बहादुर सारुले बाँदर नियन्त्रणका उपायहरु खोज्ने गरी नीति बनाउन आग्रह गर्नुभएको थियो भने दलित साझा मञ्च मुसिकोटका अध्यक्ष मुम बहादुर परियारले ग्रामीण क्षेत्रमा सञ्चालन हुने नीजि सवारी साधनहरुले अत्यधिक यात्रु बोक्ने गरेकाले त्यसको कमी गर्ने गरी कार्यक्रम बनाउन सुझाउनुभयो ।
शिक्षक ईश्वरी प्रसाद आचार्यले शिक्षक दरबन्दी पदपूर्ति गर्न योग्यता प्राप्त गरेका व्यक्तिलाई लाइसेन्स नभई पनि शिक्षण गर्ने व्यवस्था गर्ने गरी नीति बनाउन आग्रह गर्नुभयो । त्यस्तै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्माले विद्यालय नर्सको व्यवस्था गर्ने गरी कार्यक्रम बनाउन सुझाव दिनुभयो ।
पूर्वशिक्षक राम बहादुर थापाले प्रत्येक वडामा एउटा लिडर स्कुल बनाउने अवधारणा अगाडी बढाउन आग्रह गर्दै माटो परिक्षण शिविर सञ्चालन गर्ने गरी नीति बनाउन आग्रह गर्नुभयो ।
गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका महासचिव सुन्दर प्रधानले जेष्ठ नागरिकहरुका लागि आश्रम स्थल बनाउन आग्रह गर्नुभयो । त्यस्तै बालकुमारी राकसकोटीले महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने र उनीहरुलाई आय आर्जनसंग जोड्न घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नीति ल्याउन सुझाव दिनुभयो ।
सामाजिक अगुवा ज्ञानु सापकोटाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने र विद्यालय शिक्षामा संस्कृत र नैतिक शिक्षालाई अनिवार्य जोड्ने गरी कार्यक्रम बनाउन आग्रह गर्नुभयो । त्यस्तै कल्पना घिमिरेले बसाईँसराई रोक्ने गरी नीति कार्यक्रम बनाउन सुझाव दिनुभयो ।
राजनैतिक दलको तर्फबाट बोल्दै राप्रपाका गोविन्द गोपाल खातिले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति बनाउन आग्रह गर्नुभयो । त्यस्तै नेकपा माओवादीको तर्फबाट राजन सापकोटाले बेरुजु कम गर्ने, कृषकहरुको उत्पादनमा सहयोगी बन्न पशु बिमा, कृषि बिमा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।
नेपाली काँग्रेसको तर्फबाट हरिनारायण सापकोटाले नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त एवम् प्राथमिकता तय गरी दिर्घकालिन महत्व राख्ने योजनाहरु बनाउन आग्रह गर्नुभयो ।
नेकपा एमालेको तर्फबाट नगर उपसचिव सावित्रा विष्टले उपभोक्ता समितिमा महिलाहरुलाई पनि नेतृत्व तहको अवसर प्रदान गर्ने र विभिन्न स्वरोजगारमूलक तालिमहरु सञ्चालन गर्ने गरी नीति बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मुसिकोट नगर उपप्रमुख गंगा श्रेष्ठले सबै क्षेत्रबाट आएका सुझावहरु सकारात्मक रहेको र सबैलाई समेटेर नीति कार्यक्रम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडासदस्य लगायतले पनि सुझाव राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशाशकीय अधिकृत चेतनाथ गिरीले गर्नुभएको थियो ।
स्थानीय जनताको राय सुझावले आगामी नीति, कार्यक्रम तथा बजेट प्रभावकारी हुने विश्वास लिईएको नगरप्रमुख जीवन खरेलले बताउनुभयो । कार्यक्रममा आएका सुझावका आधारमा अब बस्ने नगर सभाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाको दोश्रो नगरसभाको अठारौँ अधिवेशन आगामी असार ५ गते बस्ने कार्यसूची रहेको छ । जी टिभि नेपाल