प्रेस सेन्टर गुल्मीबाट सबै पालिकामा सुझावपत्र
गुल्मी – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीले विभिन्न माध्यमबाट जिल्लाका सबै स्थानीय तहमा सुझाव पत्र बुझाएको छ । संचार क्षेत्रसँग सम्बन्धित सुझावपत्र जिल्लाका १२ वटा स्थानीय तहमध्ये ५ वटा पालिकामा प्रत्यक्ष भेटेर र ७ वटा पालिकामा इमेल मार्फत सुझाव पत्र पठाएको प्रेस सेन्टर गुल्मीका सचिव अमृता सेन्चुरीले जानकारी दिईन् । देशभरका नगर तथा गाउँपालिकामा आगामी बर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी चलिरहेको समयमा जिल्लामा संचारको अवस्थाबारे जानकारी सहित संचार क्षेत्रको बिषयमा पत्र बुझाएको उनले बताईन् ।
रेसुङ्गा नगरपालिका, रुरुक्षेत्र, धुर्कोट, छत्रकोट र गुल्मीदरबार गाउँपालिकामा पे्रस सेन्टर गुल्मीका अध्यक्ष हुमाकान्त पोखरेलले पालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव पत्र बुझाएका छन् । अन्य मुसिकोट नगरपालिका सहित ६ वटा गाउँपालिकामा इमेल मार्फत सुझाव पठाएको प्रेस सेन्टर गुल्मीले जनाएको छ ।
सुझाव पत्रमा स्थानीय संचार नीतिको निर्माण, संचारमाध्यमको विवरण संकलन, छात्रवृत्ति, बीमा, उपकरण खरिदमा अनुदान, विज्ञापनमा प्राथमिकता, र पत्रकार सम्मेलनको नियमितता जस्ता विषय उल्लेख गरिएको छ । प्रेस सेन्टर जिल्ला अध्यक्ष पोखरेलका अनुसार जिल्लामा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने पत्रकारहरुलाई छात्रबृत्तीको व्यवस्था गर्नुपर्ने, स्थानीय पत्रकारहरुको निःशुल्क स्वास्थ्य र दुर्घटना बीमा गरिदिनुपर्ने, संचारमाध्यमको हकमा चट्याङ, हावाहुरी तथा प्राकृतिक विपत्तीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संचारमाध्यमको सम्पत्ती बीमा गर्न लागयतका विषय समेटिएको छ ।
स्थानीय तहमा विकासका थुप्रै काम भएपनि सरकारले उचित ढंगले प्रचार गर्न नसकेको भन्दै अध्यक्ष पोखरेलले त्यस्ता गतिविधि बाहिर ल्याउने संचारमाध्यम आफै समस्यामा भएकोले उनीहरुको आर्थिक स्थितिलाई सुधार ल्याउन सबै पालिका लाग्नु पर्नेमा जोड दिए । प्रेस सेन्टरले दिएका सुझाव मध्ये केही कतिपय पालिकाले समेट्नु भएको छ भने कतिबाट सकारात्मक प्रतिक्रिया दिएको बताए ।