गुल्मीमा विद्यार्थीलाई लागुऔषध विरुद्ध सचेतना



गुल्मी – गुल्मी जिल्लामा लागुऔषध सेवन तथा दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्लाको प्रमुख शैक्षिक संस्था रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा लागुऔषधको दुरुपयोगले पार्ने नकारात्मक असर, यसको कानुनी पक्ष र बच्ने उपायहरूबारे विस्तृत जानकारी दिइएको हो ।

​जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शुभलक्ष्मी स्वास्थ्य सेवा र रेसुङ्गा बहुमुखी क्याम्पसको संयुक्त सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मीका प्रहरी नायब उपरीक्षक सुदीप प्रसाईं र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी हवल्दार भीम कार्कीले लागुऔषध दुव्र्यसनको अवस्था, चुनौती र समाधानका उपायहरूबारे प्रस्तुती दिएका थिए ।


Advertisement
Advertisement

​विशेषगरी सुरक्षाकर्मीहरूले लागुऔषध सेवनका कारण समाजमा बढ्ने अपराध, हिंसा, स्वास्थ्य समस्या र पारिवारिक विघटन जस्ता विषयहरूमा सचेत गराएका थिए । युवावर्ग बढी जोखिममा पर्ने भएकाले समयमै सचेत हुन उनीहरूले आग्रह गरे ।

​कार्यक्रममा सहभागी विद्यार्थी भिस्मा खनालले यस्ता कार्यक्रमले आफूहरूलाई वास्तविकता बुझ्न र गलत बाटोबाट जोगिन प्रेरणा मिलेको बताइन् । लागुऔषध सम्बन्धी जानकारी पहिले सीमित भए पनि कार्यक्रमपछि यसको गम्भीरता महसुस भएको उनको भनाइ थियो । उनले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर हुनुपर्ने धारणा राखिन् ।

सरोकारवालाहरूले लागुऔषध नियन्त्रणका लागि परिवार, विद्यालय, समाज र सुरक्षा निकायबीचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले लागुऔषधले व्यक्तिको भविष्य मात्र नभई परिवार र समाजलाई समेत ध्वस्त पार्ने र कानुनी रूपमा कडा सजायको भागीदार हुनुपर्ने भन्दै सचेत गराए ।

​यस्तै, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले लागुऔषध दुव्र्यसन राष्ट्रिय चुनौतीको रूपमा देखा परेको बताए । उनले यस्ता कार्यक्रमले युवाहरूलाई सकारात्मक सोचतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।

​युवावर्गमा बढ्दो जोखिम न्यूनीकरण गर्दै स्वस्थ र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको शुभलक्ष्मी स्वास्थ्य सेवाका प्रमुख होम पल्लीले बताए । रेसुङ्गा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण भुसालले यस कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान अभिवृद्धि गर्नुका साथै कुलतबाट टाढा रहन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन



Ticker news is only displayed on the front page.