रेसुङ्गा–काठमाडौं हवाई भाडा महँगियो
गुल्मी – नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलको हवाई भाडा वृद्धि गरेको छ। पछिल्लो समय इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको हो। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार नयाँ भाडादरअनुसार रेसुङ्गादेखि काठमाडौंसम्मको भाडा १० हजार ७ सय २ रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गासम्मको भाडा १० हजार ९ सय २ रुपैयाँ पुगेको छ।
यसअघि काठमाडौंदेखि रेसुङ्गासम्म ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गादेखि काठमाडौंसम्म ७ हजार ३ सय रुपैयाँ भाडा कायम थियो। नयाँ भाडादर वैशाख ३ गतेदेखि लागू गरिएको हो। भाडा बढेसँगै यात्रुको संख्या पनि घट्न थालेको छ। पहिलेको तुलनामा अहिले उडानमा यात्रु कम हुन थालेको स्टेशन प्रमुख थापाले बताए। उनका अनुसार विहिबार काठमाडौंबाट रेसुङ्गा आउने यात्रु तीन जना मात्रै थिए भने रेसुङ्गाबाट काठमाडौं जाने यात्रु आठ जना थिए।
नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको जहाजले हाल हप्तामा चार दिन उडान गर्दै आएको छ । जसमा प्रत्येक हप्ताको आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुँदै आएको छ।आइतबार काठमाडौंबाट बिहान ८:१० बजे रेसुङ्गाका लागि उडान हुने तथा रेसुङ्गाबाट बिहान ९:१० बजे काठमाडौं फर्किने तालिका रहेको छ। अन्य दिन भने काठमाडौंबाट बिहान ६:१० बजे रेसुङ्गाका लागि रेसुङ्गाबाट बिहान ७:१५ बजे काठमाडौंका लागि उडान हुने समय निर्धारण गरिएको छ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौं पुग्न करिब ४८ मिनेट लाग्छ। हवाई सेवा विशेषगरी वृद्ध, बिरामी, सुत्केरी तथा आकस्मिक यात्रा गर्नुपर्ने नागरिकका लागि सहज बन्दै गएको छ। अहिले यात्रुले अनलाइनमार्फत सहजै टिकट लिन सक्ने व्यवस्था समेत गरिएको छ।



