पत्रकार महासंघ गुल्मीको स्थापना दिवसमा आँखा शिविर



गुल्मी –  पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो २२औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। स्थापना दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासको प्राविधिक सहयोगमा नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरिएको हो।

तम्घासमा आयोजित कार्यक्रममा जिल्लाका पत्रकार, सञ्चारकर्मी, महासंघका पदाधिकारी, अग्रज पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको निःशुल्क आँखा परीक्षण, औंषधी, चश्मा प्रदान गरिएको सचिव सन्तोष महताराले बताए । कार्यक्रममा सहभागीहरूको आँखा जाँचसँगै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियोे ।


Advertisement
Advertisement

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले पत्रकारहरूको स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक रहेको बताए। समाजलाई सूचना दिने पत्रकारहरू आफैं स्वस्थ हुन जरुरी रहेको उनको भनाइ छ । आँखा जाँचजस्ता कार्यक्रमले समयमै समस्या पहिचान गर्न मद्दत गर्नुका साथै भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पत्रकार महासंघ गुल्मी शाखाका पूर्व अध्यक्ष जनार्दन घिमिरेले स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सरोकारसँग जोडेर मनाउनु सकारात्मक भएको बताए। महासंघले स्थापना दिवसलाई स्वास्थ्य, सचेतना र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु राम्रो अभ्यास भएको बताए

नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष अनिल खत्रीले स्थापना दिवसको अवसरमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। पत्रकारिताको मर्यादा, प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारको पक्षमा महासंघ निरन्तर क्रियाशील रहेको बताए ।

आगामी दिनमा पत्रकारहरूको क्षमता विकास र पेशागत सुरक्षाका लागि अझ सशक्त कार्यक्रम अघि बढाइने उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले यस्तो स्वास्थ्य शिविरले पत्रकार तथा सञ्चारकर्मीहरूको स्वास्थ्यप्रति सकारात्मक सन्देश दिएको बताएका थिए। उनीहरूले महासंघले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएकोमा प्रशंसा गरेका छन्।

महासंघ गुल्मीले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू तथा प्राविधिक सहयोग प्रदान गर्ने नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासप्रति विशेष आभार व्यक्त गरेको छ । स्थापना दिवसका अवसरमा महासंघले आगामी दिनमा पत्रकारहरूको हकहित, क्षमता विकास तथा प्रेस स्वतन्त्रताको संरक्षणमा अझ सक्रिय रूपमा कार्य गर्ने सचिव महताराले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।


Ticker news is only displayed on the front page.